काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन्। लुम्बिनी प्रदेशस्तरीय ओली निकट नेताहरुको भेलामा पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए।
उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोपहरुसहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क दिरे। उनले पार्टी एकता नहुँदैदेखि प्रचण्डले सहमति भंग गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले अनेक विकल्प अघि सार्दा पनि सहमति कायम गर्न नसकिएको बताए।
‘प्रधानमन्त्री ओलीले महाधिवेशन वा विशेष महाधिवेशनबाट भए पनि नेतृत्व हस्तान्तरण गर्छु भन्नुभयो,’ पौडेलले भने, ‘तर उहाँहरु महाधिवेशन र विशेष महाधिवेशन दुवैमा तयार हुनु भएन।’ उनले सचिवालयका ७७ बैठक बस्दा पनि पार्टीलाई सही दिशामा लैजान नसकिएको जनाउँदै सचिवालयमा आफूअनुकूल निर्णय गर्न खोज्दा सधैँजसो समस्या देखिने गरेको बताए।
सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरुले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाए। उनले अघिल्लो पटकको प्रधानमन्त्रीकालमा ओलीले भारतसँग विद्युत् किनेका कारण मुलुक विद्युत्भार कटौतीमुक्त भएको जिकिर गरे।
पोखरेलले प्रधानमन्त्री ओलीले चीनसँग पारवहन सम्झौता, हुलाकी सडक-विमानस्थल निर्माण-स्थानीय तहमा अस्पताल निर्माणलगायत थुप्रै राम्रा काम गरेको उदाहरण दिँदै नयाँ भूभाग समेटेर नेपालको नक्शा जारी गरेपछि ओलीमाथि घेराबन्दी थालिएको विचार व्यक्त गरे।



लोकपाटी न्यूज

