काठमाडौं। नेकपाका नेता तथा सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नराखी संविधान बनाईएको सुनाउँदै अहिले संसद विघटन गर्नु गैरसंवैधानिक भएको बताएका छन्।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले ल्याएको संसद विघटन प्रस्तावअनुसार संसद विघटन हुनै नसक्ने बताएका हुन्।
उनले भने,‘आशा गरौं सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्ने छ, प्रचण्ड र माधवको नेकपा आधिकारिक हो जस्तो लाग्छ मलाई।’
कुनै पनि अर्थमा संसद विघटनको प्रावधान संविधानमा नभएको उनले जिकिर गरे। उनले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसँग छलफलनै नगरी संसद विघटन गरेको दुःखेसो पोखे।आफू वर्तमान संविधानको मस्यौदाकारमध्ये एक भएको सुनाउँदै पोखरेलले संसदीय अस्थिरतालाई मध्यनजर गर्दै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको व्यवस्था संविधानमा नराखेको पनि बताए।
उनले ओली पक्षधरले बोलाएको केन्द्रीय कमिटी बैठक वैधानिक नभएको जिकिर गरे। दाहाल नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा तीन सय १५ जना सदस्यहरु उपस्थिति भएकोले यो नै आधिकारिक पार्टी र निर्णय भएको उनको भनाई छ। उनले कोसँग बहुमत छ ? भन्ने कुरा निर्वाचन आयोगले निक्र्यौल गर्न सक्ने जिकिर गरे।



लोकपाटी न्यूज

