काठमाडौं। ओली समूहतिर लागेका नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले आफू गृहमन्त्री बन्न लागेको भन्दै कार्यकर्तालाई फोन गरेका छन्। मंगलबार बिहान बालुवाटारमा भएको भेलाअघि रायमाझीले आफूनिकट कार्यकर्तालाई फोन गरेका हुन्।
नेकपाका खेलकूद विभाग प्रमुखसमेत रहेका नेता रायमाझी मंगलबार बिहानदेखि नै आफूनिकट नेता–कार्यकर्तालाई फोन गरेका थिए। खेलकूद महासंघका नेताहरुले रायमाझीको फोन नउठाएपछि उनले आफूनिकट नेताहरुसँग भनेका थिए, ‘म गृहमन्त्री बन्दैछु, के भोलि म चाहिन्नँ ?’
रायमाझी ओली समूहमा लागेको जानकारी पाएका नेता–कार्यकर्ताले उनको फोन नउठाएपछि उनी आक्रोशित भएका थिए। ओली समूहले बालुवाटारमा ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समितिको घोषणा गरिरहँदा रायमाझी भने आफूनिकट र आफूले चिनेजानेका नेताहरुलाई फकाएर आयोजक समितिमा राख्न व्यस्त थिए। उनले फोन गर्दै नेताहरुलाई बालुवाटारको भेलामा बोलाएका थिए।
रायमाझीले खेलकूद महासंघमा मात्र होइन, विगतमा बाबुराम भट्टराईनिकट रहेका नेकपाका नेता–कार्यकर्तालाई पनि फोन गरेका थिए। उनले विशेषतः उपत्यका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नेता–कार्यकर्तालाई आफूतिर तान्न अन्तिमसम्म कोशिस गरेको एक नेताले बताए।



लोकपाटी न्यूज

