काठमाडौं। प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच वालुवाटारमा भेटवार्ता भएको छ। ओलीलाई भेट्न बादल बालुवाटार पुगेका हुन्। स्रोतका अनुसार उनीहरूबीच १ घण्टा छलफल भएको थियो।
नेकपामा ओली र नेमपाले बादललाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन्।
संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा नेकपामध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन्।
बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै निर्णय गरिसकेका छैनन्।
पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर मंगलबार बिहान प्रचण्डले बादललाई भेट्दै आफूलाई साथ दिन आग्रह गरेका थिए।
मंगलबार दिउँसो १ बजे प्रचण्ड–माधव नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाएको छ भने माधव नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको छ।
बादलले आफ्नो समूह स्पष्ट नपारिसकेको अवस्थामा ओलीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।



लोकपाटी न्यूज

