काठमाडौं। नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रायले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्पर्क बढाएको बताएका छन्। मंगलबार द इकोनोमिक टाइम्समा प्रकाशित लेखमा पूर्वराजदूत रायले अब ओली भारतसँगको सहकार्यमा रहेको निष्कर्ष निकालेका छन्।
उनले नेपालमा चीनको प्रभाव घटेकोले त्यसको फाइदा भारतलाई भएको टिप्पणी गरे। पूर्वराजदूत रायले नेकपा मिलाउने चीनको प्रयास सफल नभएको दाबी पनि गरेका छन्। चीनले ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा जोड नदिएपछि ओली भारतसँग नजिकिएको उनको तर्क छ।
‘चिनियाँहरूले ओलीलाई सहयोग गरिरहेको वेलासम्म सबै ठीक थियो। तर, चीनले ओलीको नेतृत्वको निरन्तरतामा भन्दा नेकपा एक रहने विषयमा बढी चासो दिएको महसुस भएपछि ओलीको रणनीति बदलियो,’ राजदूत रायले लेखेका छन्।
यता नेपालको संसद् भंग भएपछि भारतको संस्थापन धारले सन्तोष मानेको छ। भारतीय जनता पार्टीका एक नेताका अनुसार नेपालमा चीनको बढ्दो प्रभाव अब खण्डित भएको छ। अब नेपालमाथि भारतले आफ्नो पूर्ववत् वर्चश्व कायम गर्ने अवस्था सिर्जना भएको उनको भनाई छ।
भारतका विज्ञहरूको अर्को समूहले भने ओलीको निर्णयले हिमालय क्षेत्रमा अस्थिरताको बिउ रोपेको तर्क गरेको छ। भारतले नेपालको घटनाक्रमबारे आधिकारिक रूपमा भने प्रतिक्रिया जनाएको छैन। तर नेपाल हेर्ने एक भारतीय कूटनीतिज्ञले यो परिस्थिति भारतलाई अनुकूल वा प्रतिकूल नहुने विश्लेषण गरेका छन्।



लोकपाटी न्यूज

