काठमाडौं। मंगलबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कार्वाही गरी अध्यक्षबाट बर्खास्त गर्दै वरिष्ठ नेता माधव कुमार नेपाललाई अर्को अध्यक्षमा चयन गरेको छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई अध्यक्ष बनाउन केन्द्रीय समितिमा प्रस्ताव गरेका थिए।
बैठकले ओलीलाई अध्यक्षबाट हटाउँदै रिक्त रहेको स्थानमा नेपाललाई अध्यक्षमा चयन गरेको हो। यता ओली नेतृत्वको अल्पमत समूहले मंगलबार बिहान बालुवाटारमा भेला गरेर आफ्नो टीम घोषणा गरेको छ। ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएर नेकपाबाट आधिकारिक रुपमा बाहिरिएको छ।
नेकपाबाट बाहिरिएका ओलीसँग पूर्वएमालेको ३३ प्रतिशत मात्र पदाधिकारीहरु रहेका छन्। अहिलेको नेकपामा ओलीतिर उभिने नेताहरुको प्रतिशत २९.२ छ। २०७१ मा सम्पन्न नेकपा (एमाले) को नवौं महाधिवेशनले १६ जना नेताहरुलाई पदाधिकारीमा निर्वाचित गरेको थियो। त्यसमध्ये उपाध्यक्षमा निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि तत्कालीन एमालेमा १५ जना पदाधिकारी थिए। २०७५ जेठ ३ गते एमाले र माओवादीबिच एकीकरणपूर्व एमालेमा १५ पदाधिकारी थिए। त्यसमध्ये ५ जनाले मात्र ओली समूहलाई साथ दिएका छन्।
नवौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका थिए। त्यसैगरि पूर्वमहासचिव माधवकुमार नेपाल र पूर्वअध्यक्ष झलनाथ खनाल एमालेको वरिष्ठ नेतामा चयन भएका थिए। पाँच जना उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली निर्वाचित भएका थिए। त्यसैगरि महासचिवमा ईश्वर पोखरेल, २ जना उपमहासचिवमा घनश्याम भुसाल र विष्णु पौडेल, पाँच सचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई निर्वाचित भएका थिए।
निर्वाचित १५ पदाधिकारीमध्ये तत्कालीन अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ ओली कित्तामा उभिएका छन्। नवौं महाधिवेशनमा महासचिवमा ६ मतले पराजित सुरेन्द्र पाण्डे लगायतका प्रभावशाली नेताहरु पनि प्रचण्ड–नेपाल समूहमा उभिएका छन्। यसले ओलीको राजनीतिक भविष्य थप कमजोर बनाएको छ।



लोकपाटी न्यूज

