नेकपा केन्द्रिय समितिको बैठक सकियो, अर्को बैठक ९ गते

लोकपाटी न्यूज

काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डले केपी ओलीलाई हटाइएसँगै नयाँ अध्यक्ष चयन भएका माधव कुमार नेपाललाई बधाइ दिएका छन्। केन्द्रीय समिति बैठकमै उनले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन्।

राजधानीमा बसेको बहुमत केन्द्रीय सदस्यको बैठकमा प्रचण्डले अर्को बैठक मंसिर ९ गतेका लागि तय भएको पनि जानकारी दिए। बैठक ११ बजे कार्की ब्यांकेटमै बस्नेछ। यस्तै भोलि दिउँसो १ बजे संंसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक समेत बोलाइएको छ। यससँगै आजको बैठक सकिएको घोषणा गरिएको छ।

बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट बर्खास्त गरेको छ।

सो बैठकमा एकीकृत नेकपाका ४४१ केन्द्रीय सदस्य मध्ये ३१० जना उपस्थित रहेका थिए। यसअघि पुस ५ मै स्थायी कमिटी बैठकबाट ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो।

उता नेकपा (ओली समूह)को पनि मंगलबार बिहान केन्द्रीय कमिटीको बैठक बसेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकले ११४९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो। एकीकृत नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट बर्खास्त गर्दै प्रदीपकुमार ज्ञवालीलाई नयाँ प्रवक्ता बनाएको छ।