काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन नभएको दावी गरेका छन्।
जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदको बैठकमार्फत प्रतिनिधिसभा भङ्ग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नासाथ ओली नेतृत्वको सरकार भङ्ग भएको प्रस्ट पारे।
उनले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै अधिकार संविधानले नदिएको दावीसमेत गरे। ‘संविधानविद्ले पनि त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक नै छ भनेका छन्,’ उनले भने, ‘विघटन भएको सरकार हो, संसद होइन भनेर हामी सर्वोच्च अदालतमा पनि जान्छौँ।’
उनले न्यायालयप्रति आफूहरुले भरोसा गरेको र संविधानको मर्मलाई न्यायालयले आत्मसात् गरेर न्याय दिने विश्वास गरेको सुनाए। संवैधानिक कानुनका जानकारहरुले संसद विघटन सिफारिस गर्ने सरकारको निर्णय र त्यसलाई जारी गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको बताउदै आएका छन्।
उनीहरुले बहुमत प्राप्त दलको प्रधानमन्त्रीलाई संविधानले यस्तो अधिकार नदिएको उनीहरुको जिकीर छ। उनीहरुले सर्वोच्च अदालतले यो विवादमा गम्भीर हस्तक्षेप गर्नुपर्ने पनि बताएका छन्।
संविधान र संसदीय व्यवस्था बचाउनका लागि सर्वोच्चमात्र अब विकल्प भएकाले उसले संविधानको रक्षकको भूमिका देखाउनुपर्ने बताएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलाशले यससम्बन्धी सुनुवाई गर्नेछ। सर्वोच्चमा तीन रिट पेश भएका छन्। उक्त निवेदनहरुमा सोमबारमात्र निर्णय हुनेछ।



लोकपाटी न्यूज

