काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा अर्का अध्यक्ष केपी शर्मा ओलीले गरेको केन्द्रीय समिति बैठकलाई भेलाको संज्ञा दिएका छन्। नेकपा केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले बालुवाटारमा ओलीले बोलाएको भेलाले वैधानिकता प्राप्त गर्न नसक्ने बताएका हुन्।
‘६५ प्रतिशत केन्द्रीय सदस्य यहाँ हुनुहुन्छ, केही केन्द्रीय सदस्य बाटोमा हुनुहुन्छ। निर्वाचन आयोगको नियम कानुन ऐनअनुसार यो बैठक वैधानिक र आधिकारिक हो। बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त लायक छैन,’ बैठकमा प्रचण्डले भने, ‘संवैधानिक निकायका पदाधिकारीले संविधान ऐन अनुसार विधिसम्मत ढंगले चल्छन् भन्ने अपेक्षा छ। विधिलाई ती सबैले सम्मान गर्नेछन् भन्ने अपेक्षा राखेको छु।’
प्रचण्डले राम बहादुर थापा बादल आफ्नो समूहको बैठकमा आउने बताए। ओली र प्रचण्ड दुबै समूहको बैठकमा नगएका बादल आफ्नो समूहको बैठकमा आउने उनको दाबी छ। ‘बादल भोलिको हाम्रो बैठकमा आउनु हुन्छ,’ प्रचण्डले भने, ‘वामदेव गौतम पनि बालुवाटारको बैठकमा जानु भएको छैन। यतै आउनु हुन्छ।’
अर्का अध्यक्ष ओली पक्षले केन्द्रीय समिति विस्तार गरेको विषयमा टिप्पणी गर्दै प्रचण्डले भने, ‘दुई तिहाइभन्दा बढी संख्या थपेर आधिकारिकता दिन्छन् भन्ने नसोचे हुन्छ। त्यसमा पार्टीको परम्परा, एकताको भावना जोडिएको छैन।’



लोकपाटी न्यूज

