देशमा फेरि ठुलो ध्रुवीकरण हुनेछ : माधव नेपाल

madhav kumar nepal
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरि ध्रुवीकरणको अवस्था निम्त्याएको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्। नेकपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ओलीको स्वेच्छाचारी प्रवृत्तिका कारण अहिलेको अवस्था निम्तिएको बताए।

‘पार्टी र सरकारका काममा स्वेच्छाचारी हुनुभयो। जनताको पक्षमा हुनुभएन,’ संसद् विघटन गर्ने ओलीको कदमप्रति लक्षित गर्दै नेता नेपालले भने, ‘देशका सबै दल ओलीको कदमका विरुद्ध छन्। देशमा फेरि ठुलो ध्रुवीकरण हुनेछ।’

नेकपा स्थायी समिति बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सर्वसम्मत निर्णय गरे पनि ओलीले फिर्ता नलिएको स्मरण गरे। यो निर्णय ओलीको सहमतिमा भएको पनि उनले उल्लेख गरे। तर ओलीले पार्टीको निर्णयको अवज्ञा मात्र नगरेर झन् उल्टै संवैधानिक आयोगहरूमा समेत सिफारिस गरेको नेता नेपालको भनाई छ।

‘उहाँले स्थायी समिति बैठकमा अध्यादेश फिर्ता लिन्छु भन्नुभयो, तर लिनुभएन। उहाँले संवैधानिक आयोगहरूमा कुनै सिफारिस भएको छैन भन्नुभयो। तर, सबै पदमा नियुक्ति गर्नुभयो, ‘ उनले भने, ‘उहाँले आफ्नो आलोचना गर्नेहरूलाई धम्काउने, तर्साउने, जालझेल गर्ने गर्नुभयो।’