ओलीले पार्टी विभाजनका लागि अगुवाइ गरेः नारायणकाजी श्रेष्ठ

Narayankaji
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी निर्णय र संविधान विरुद्ध उभिएको बताएका छन्। नेकपा केन्द्रीय समिति बैठक सञ्चालन गर्दै प्रवक्ता श्रेष्ठले ओली जनताको जनादेशलाई लत्याएर संविधान विरुद्ध उभिएको बताएका हुन्।

उनले भने, ‘हामीले २०७५ मा समाजवादको निर्माणका लागि एकता गरेका थियौँ। त्यसअघि भएको चुनावमा हामीले राम्रो जनमत पायौं। सबै तहमा हाम्रा सरकारहरू बने। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश लत्याए। पार्टी निर्णय र संविधानका विरुद्ध उभिए।’

प्रवक्ता श्रेष्ठले सरकारलाई जनमुखी बनाउने शीर्ष नेताहरूको प्रयास असफल भएको पनि बताए। ओली पार्टी एकताको पक्षमा नरहेकोले पार्टीमा भाँडभैलो निम्तिएको उनको भनाई छ।

उनले भनेका छन्, ‘सरकारलाई जनमुखी बनाउने, पार्टीलाई समाजवाद उन्मुख बनाउने हाम्रो प्रयास खेर गयो। पार्टीलाई भाँडमा लैजाने कूकर्मको अगुवाइ ओलीले गरे। दुखका साथ भन्नुपर्छ ओलीले संविधानको पालना गर्नुको सट्टा त्यसको विपक्षमा उभिए।’