काठमाडौं, ७ पुस, प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको भेला बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको भेलाले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन्। उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ।
बिहान नौ बजे बोलाइएको भेला केन्द्रीय सदस्यहरुको सूची तयार पार्नु पर्ने भन्दै ढिला सुरु गरिएको हो।
यसअघि नै स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ। त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक पनि बस्दै छ। प्रचण्ड–नेपाल पक्षको बैठक दिउँसो १ बजे कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ।
नेकपा नेता टोपबहादुर रायमाझी र मणि थापा केपी शर्मा ओली पक्षतिर लागेका छन्। उनीहरु नेकपा अध्यक्ष ओलीले बोलाएको केन्द्रीय समिति भेलामा सहभागी हुन बालुवाटार पुगेका हुन्। रायमाझी र थापा पूर्वमाओवादी हुने भने पूर्व माओवादीकै लेखराज भट्ट पनि ओलीतिर लागिसकेका छन्।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको डिलमा रहेको छ भने आजै प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ ।



लोकपाटी न्यूज

