काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न मन्त्री क्वार्टर पुल्चोक पुगेका छन्। मंगलबार बिहान थापाको सरकारी निवास पुल्चोकमा पुगेर प्रचण्डले छलफल गरेका हुन्।
‘यसअघि जे भए पनि यो अन्तिम अवस्थामा तपाइँको साथ दिनु हुनेछ भन्ने अपेक्षा छ,’ प्रचण्डले भनेका थिए। त्यसको जवाफमा थापाले अहिले अन्तिम अवस्था भएकाले साथ दिन सक्ने संकेत दिएको उनी निकट एक नेताले बताए। थापासँग छलफल सकिएपछि प्रचण्डले खुमलटार आफु निकट नेताहरुसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल र माधवकुमार नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिए पनि थापाले भने दिएका थिएनन्। त्यसपछि थापा ओलीसँग नजिकएको अड्कलबाजी गरियो। तर सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भएको छलफलमा थापा अनुपस्थित भएका थिए।
यसअघि थापाले आफूनिकट २४ सांसदलाई बोलाएर हिजो परामर्शसमेत गरेका थिए। अधिकांश सांसदले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिरहेको बेला आफूनिकट सांसद पनि आफूसँग नभएपछि के गर्ने भन्ने अलमलमा थापा छन्। आज दुवै अध्यक्षले बेग्लाबेग्दै केन्द्रीय कमिटी बैठक बोलाएका छन्। उनले अहिलेसम्म के गर्ने निर्णयमा पुगेका छैनन्।
आजको भेटमा प्रचण्डले हिजो भएका छलफलका निर्णयसमेत सुनाएका थिए। भेटमा बादलले छिट्टै निर्णय लिने प्रचण्डले सुनाएका थिए। यसअघि हिजो ढेड दर्जन केन्द्रीय सदस्यले पनि थापालाई राजीनामा दिएर आउन दबाब दिएका थिए। स्रोतका अनुसार थापा आज पनि बिहानैदेखि आफूनिकट नेताहरुसँग छलफलमा छन्।



लोकपाटी न्यूज

