बालुवाटारमा ओलीनिकट केन्द्रीय सदस्यहरुकाे भेला

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको केन्द्रीय नेताहरुकाे भेला सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भेला सुरु भएको हो।

आइतबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको स्थायी समिति बैठकले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेपछि ओलीले आज बैठक बोलाएका हुन्।

त्यस्तै, आइतबार बसेको स्थायी समिति बैठकले आजै १ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बोलाउनेन निर्णय गरेको छ। त्यही बैठकबाट ओलीलाई कारबाही गर्ने तयारी प्रचण्ड-माधव नेपाल समूहको छ।

आइतबार बसेको स्थायी समिति बैठकले पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही अगाडि बढाएको पत्र निर्वाचन आयोगमा सोमबार पेस गरेका थिए। आजको बैठकमा ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव पेश हुने छ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ। प्रचण्डनिकट करिब दुई सय र नेपालनिकट करिब एक सय १० जना केन्द्रीय सदस्य रहेको उनीहरूको दाबी छ। तर, गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई साथ नदिएको अवस्थामा भने पूर्वमाओवादी समूहको संख्या तलमाथि हुनेछ।

नेकपाको केन्द्रीय समितिको समीकरणमा ओली एकतिहाइ मतमा पनि नभएको देखिएको छ। पार्टी एकताका बेला पूर्वएमालेले नवौं महाधिवेशनबाट निर्वाचित २०७ केन्द्रीय समितिलाई यथावत राखेर ३३ जना नयाँ नेता थपेको थियो। थपिएका नेतामध्ये अधिकांश नेता ओलीका भए पनि महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा ओली समूह प्रष्ट अल्पमतमा थियो।

महाधिवेशनमा माधव नेपाल समूहको बहुमत टीमले जिते पनि अध्यक्ष र महासचिव पद मात्र गुमाएका थिए। पदाधिकारी र स्थायी समितिमा पनि माधव नेपालको बर्चश्व रहेकोमा ओलीले एकतापछि पूर्वएमालेतर्फका केन्द्रीय सदस्यमा आफ्ना मान्छे थपेका थिए। तर, त्यसो गर्दा पनि ओली पूर्वएमालेमा बहुमतमा थिएनन्।

आइतबार बसेको बहुमत स्थायी कमिटी सदस्यको बैठकको निर्णयअनुसार ओलीमाथि पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा संगठित सदस्य नरहने गरी निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी छ। निर्णयलगत्तै त्यसको जानकारी निर्वाचन आयोगलाई दिने तयारी छ।

स्थायी कमिटीले अनुशासनको कारबाही गर्न प्रस्ताव गरेको निर्णयसहितको पत्र नेता लीलामणि पोखरेलले सोमबार निर्वाचन आयोगको कार्यालयमा बुझाएका छन्। सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पोखरेलले गरेको कुराकानीका आधारमा केन्द्रीय कमिटीको बहुमत सदस्यले कारबाही गरेको हस्ताक्षरसहितको पत्र आयोगबाट माग भएको ब्रिफिङ गरेका छन्। केन्द्रीय कमिटीको बहुमत सदस्यको कारबाहीसहितको निर्णय जानकारी गराएमा नेकपाले नै वैधानिकता प्राप्त गर्ने विद्यमान निर्वाचन कानुन रहेकोसमेत आयोगले जानकारी गराएको प्रचण्डले सांसदहरूलाई ब्रिफिङ गरेका थिए।