नेकपा केन्द्रीय समिति बैठक आज, ओलीलाई कारबाही गर्ने तयारी

Nekapa_Thai
लोकपाटी न्यूज

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद निर्णायक चरणमा पुगेको छ। आज ओली र प्रचण्ड-माधव नेपाल पक्षले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओली पक्षले बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएको छ भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षले दिउँसो १ बजे बैठक कार्की बेङ्क्वेटमा बैठक बोलाएको छ। ओलीका तर्फबाट केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल र अर्कोतर्फबाट केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय सदस्यले स्थान र समयको सूचित गरिसकेका छन्।

यसअघि आइतबार बसेको स्थायी समिति बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो। ओलीलाई कार्वाहि गर्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने पनि निर्णय पनि गरेको थियो। आजको केन्द्रीय समिति बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रचण्ड-नेपाल पक्षले जनाएको छ। सोमबार ओलीलाई कार्वाहि गरेको पत्र निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ।

पार्टी एकताको दुई वर्ष सात महिनापछि दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपा संसद् विघटन गरेपछि औपचारिक विभाजनतर्फ जाने सम्भावना बलियो बनेको छ। दुवै पक्षले अलग-अलग भेला र बैठक जारी राखेका छन्। सोमबार पनि दुवै पक्षले भेला गरी संसद् विघटनका विषयमा आफ्ना कुरा राखेका थिए।

राष्ट्रिय सभा र विघटित प्रतिनिधिसभा दुवै सदनका सांसदको संयुक्त भेलापछि उनीहरूले आ-आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिसकेका छन्। बैठकका लागि उपत्यकाबाहिर रहेका दुवै पक्षका केन्द्रीय सदस्य काठमाडौँमा भेला हुँदै छन्। चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रचण्ड-नेपाल समूह बहुमतमा छ।