काठमाडौं। ओली सरकारका निवर्तमान कृषिमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले आगामी चुनावको चिन्ता हुने नेताले हठात् संसद बिघटन गर्न नसक्ने बताएका छन्। सोमबार बेलुका कान्तिपुर टेलिभिजनसँग कुराकानी गर्दै भुसालले प्रधानमन्त्रीले चालेको कदम नेपालको कालो इतिहास भएको पनि बताए।
आइतबार बिहान प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमा राखेको प्रस्तावबारे उनले भनेका छन् – सधैंझैं प्रधानमन्त्री आउनुभयो, आज २ वटा एजेण्डा छन् भन्नुभयो। पहिलो अघिल्लो अध्यादेश फिर्ता लिने, जसमा हामी कसैको पनि बिमति थिए। त्यो छलफल गरिरहनुपर्ने विषय पनि थिएन। दोस्रो एजेण्डा चाहिँ अलि गम्भीर प्रकृतिको थियो। प्रधानमन्त्रीले मलाई घेराबन्दी भयो, पार्टीकै नेताहरुबाट असहयोग भयो, ताजा जनादेशमा जाने निर्णय गरौं भन्नुभयो।’’
भुसालले थपे, ‘‘प्रधानमन्त्री हतारमा हुनुहुन्थ्यो। उहाँलाई कसैका कुरा सुन्नु थिएन। तैपनि हामीले हाम्रो कुरा राख्यौं। मैले अरु धेरै बिकल्प छन्, त्यतातिर छलफल गरौं। अहिले यतातिर त सोच्दा पनि नसोचौं। यो सामूहिक आत्महत्या हुन्छ भनें। प्रदीपजीले पनि छोटो तर मार्मिक कुरा बोल्नुभयो। हामीले गरेको निर्णयको कानूनी र राजनीतिक बैधता के हुन्छ ? त्यो नहेरी निर्णय गर्नु हुँदैन भन्ने उहाँको थियो। वर्षमानजीले पनि बोल्नुभयो। छलफलमा जाउँ र निष्कर्ष निकालौं, यो आत्मघाती हुन्छ भन्नुभयो। अरु मन्त्रीज्यूहरु बोल्न खोज्दै हुनुहुन्थ्यो। प्रधानमन्त्रीज्यू उठेर हिड्नुभयो।’’
भुसालले लोकतन्त्रका लागि लडेको नेताले आफै चुनिएको संसद बिघटन गर्ला भन्ने कुरा आफूले नसोचेको बताए। ‘‘साहित्यमा पढिन्छ, अन्यत्र पनि यस्ता घटनाबारे सुनिएको थियो’’ उनले थपे, ‘‘तर, लोकतन्त्रका लागि लडेको नेताले यसो गर्लान् भन्ने सोच्न पनि बडा गाह्रो छ। नेताहरुले कुन मुडमा सोच्छन् होला, निर्णय गर्नुपूर्व कति विश्लेषण गर्छन् होला ? अनौठो छ।’’
प्रधानमन्त्री ओलीसँग अरुका कुरा सुन्ने, अलि परसम्म हेर्ने सोंच नै नभएको उनले बताए। ओलीले यसअघि नै आउने चुनावमा उठ्दिनँ भनिसकेका कारण उनमा अरु नेताहरुको भविष्य र देशप्रति चिन्ता नदेखिएको भुसालले तर्क गरेका छन्।



लोकपाटी न्यूज

