काठमाडौं। नेकपाका स्थायी समिति एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको घोषणा गरे पनि त्यस्तो चुनाव नहुने बताएका छन्। सोमबार बेलुका प्राइभ टेलिभिजनमा दिएको अन्तर्वार्तामा उनले वैशाख १७ र २७ गते गर्ने भनिएको चुनाव गर्नका लागि नभएर भन्नका लागि मात्र भएको बताएका छन्।
अन्तर्वार्तामा गुरुङले भनेका छन् – प्रधानमन्त्रीले जे गरिराख्नुभएको छ, यो सबै इण्डो–प्यासफिक डिजाइनमा हो। लेखेर राख्नुस्, वैशाख १७ र २७ मा चुनाव हुँदैन। यो सबै गणतन्त्र खारेज गर्ने, संघीयता खारेज गर्ने, समावेशी, समानुपातिक व्यवस्था उल्टाउने र नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने डिजाइनमा भइराखेको छ। नेपालमा चुनाव हुँदैन, ओलीले ज्ञानेन्द्रसँग मिलेर गणतन्त्र उल्टाउन लाग्छन्।’
गुरुङले नेपाल फेरि भूराजनीतिक द्वन्द्वको भूमरिमा परेको विश्लेषण गरे। उनले भने – नेपाल अफगानिस्तान, सिरिया र लिबिया बन्ने खतरा छ। विदेशी सेना ल्याएर देशका अस्थीरता मच्चाउने र चुनावबिनै आफ्नो शासन लम्बाउने खेल भइराखेको छ। यो हामीलाई मान्य हुँदैन। परिवर्तनका पक्षधर सबै यो प्रतिगमनका विरुद्ध उभिनुपर्दछ।’
नेता गुरुङले विचार र राजनीतिबाट पराजित मान्छेहरुले पार्टीभित्रको बहसलाई विषयान्तर गर्न खोजेको बताएका छन्। उनले भनेका छन् – विचार राजनीतिमा पराजित भएपछि, तर्क नभएपछि प्रधानमन्त्री बहसबाट भाग्न खोजेको छन्। बहसबाट त्यत्तिकै भाग्न मिल्दैन, त्यसका लागि बहाना चाहिन्छ। ओलीले पदको बार्गेनिङ भन्दै विचारको बहसबाट भागेका मात्र हुन्, यो साँचो होइन।’



लोकपाटी न्यूज

