काठमाडौं। नेकपाभित्र जारी विवादका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बिघटन गरेपछि नेकपाबाट ओली समूह बाहिरिने करीब निश्चित भएको छ। नेकपाबाट बाहिरिन ओलीले मंगलबार बिहान ९ बजे आफूनिकट केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाएका छन्। यता नेकपाले पनि दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ।
चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ। प्रचण्डनिकट करिब दुई सय र नेपालनिकट करिब एक सय १० जना केन्द्रीय सदस्य रहेको उनीहरूको दाबी छ। तर, गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई साथ नदिएको अवस्थामा भने पूर्वमाओवादी समूहको संख्या तलमाथि हुनेछ।
नेकपाको केन्द्रीय समितिको समीकरणमा ओली एकतिहाइ मतमा पनि नभएको देखिएको छ। पार्टी एकताका बेला पूर्वएमालेले नवौं महाधिवेशनबाट निर्वाचित २०७ केन्द्रीय समितिलाई यथावत राखेर ३३ जना नयाँ नेता थपेको थियो। थपिएका नेतामध्ये अधिकांश नेता ओलीका भए पनि महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा ओली समूह प्रष्ट अल्पमतमा थियो।
महाधिवेशनमा माधव नेपाल समूहको बहुमत टीमले जिते पनि अध्यक्ष र महासचिव पद मात्र गुमाएका थिए। पदाधिकारी र स्थायी समितिमा पनि माधव नेपालको बर्चश्व रहेकोमा ओलीले एकतापछि पूर्वएमालेतर्फका केन्द्रीय सदस्यमा आफ्ना मान्छे थपेका थिए। तर, त्यसो गर्दा पनि ओली पूर्वएमालेमा बहुमतमा थिएनन्।
आइतबार बसेको बहुमत स्थायी कमिटी सदस्यको बैठकको निर्णयअनुसार ओलीमाथि पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा संगठित सदस्य नरहने गरी निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी छ। निर्णयलगत्तै त्यसको जानकारी निर्वाचन आयोगलाई दिने तयारी छ।
स्थायी कमिटीले अनुशासनको कारबाही गर्न प्रस्ताव गरेको निर्णयसहितको पत्र नेता लीलामणि पोखरेलले सोमबार निर्वाचन आयोगको कार्यालयमा बुझाएका छन्। सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पोखरेलले गरेको कुराकानीका आधारमा केन्द्रीय कमिटीको बहुमत सदस्यले कारबाही गरेको हस्ताक्षरसहितको पत्र आयोगबाट माग भएको ब्रिफिङ गरेका छन्। केन्द्रीय कमिटीको बहुमत सदस्यको कारबाहीसहितको निर्णय जानकारी गराएमा नेकपाले नै वैधानिकता प्राप्त गर्ने विद्यमान निर्वाचन कानुन रहेकोसमेत आयोगले जानकारी गराएको प्रचण्डले सांसदहरूलाई ब्रिफिङ गरेका थिए।
उता, प्रधानमन्त्री ओली पक्षले पनि मंगलबार डाकिएको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष प्रचण्डमाथि पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गर्ने तयारी गरेको छ। तर, ओली पक्षले केन्द्रीय कमिटीमा बहुमत नपुग्ने निश्चित देखिएपछि नेकपा दुई अध्यक्षात्मक प्रणालीमा रहेको र एउटा पक्षले अलग्गै बैठक गरेर अनुचित निर्णय लिएकाले एकता भंग हुने दलिलसहित कारबाहीपछि निर्वाचन आयोगमा पत्राचार गर्ने तयारी गरेको छ।



लोकपाटी न्यूज

