विदेशी शक्तिको आडमा ओलीले संसद विघटन गरेः मोहनविक्रम सिंह

mohan-bikram-singha
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। बैठकको निर्णयबारे जानकारी दिन जारी गरिएको वक्तव्यमा मसालका महामन्त्री मोहनविक्रम सिंहले ओली सरकारले असंवैधानिक र अप्रजातान्त्रिक कदम लिएपछि समर्थन फिर्ता लिने निर्णय गरेको जनाए।

‘हामीले ओली सरकारलाई दिएको समर्थनलाई पनि फिर्ता लिने निर्णय गर्दछौँ। ओली सरकारलाई दिएको त्यो समर्थन, प्रथम, व्यक्तिगत रुपमा ओलीका लागि नभएर नेकपाको सरकारका लागि थियो। द्वितीय, त्यो समर्थन नीतिमाथि आधारित थियो। तर, अहिले ओली सरकारले लिएको असंवैधानिक र अप्रजातान्त्रिक कदममाथि विचार गर्दै हाम्रो पार्टीले त्यो सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ,’ वक्तव्यमा उल्लेख गरिएको छ।

सिंहले ओली सरकारले उठाएको कदम देश र जनताका वृहत्तर हितका विरुद्ध भएको पनि उल्लेख गरे। ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएकाले विघटित संसदको पुनर्स्थापनाको लागि पार्टीले माग गरेको छ। गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता जस्ता प्राप्त सीमित अधिकारसमेत गुम्न नदिन वर्तमान संसदीय व्यवस्थाको रक्षा गर्नुपर्नेमा मसालको जोड छ।

ओली सरकारले कुनै देशी वा विदेशी प्रतिगामी शक्तिहरुको आडमा त्यस प्रकारको कदम चालेको भए त्यसबाट सम्पूर्ण देश र जनतालाई गम्भिर क्षति पुग्नुका साथै अन्तमा स्वयं ओली सरकारका लागि पनि त्यो कदम आत्मघाती हुने पार्टीको ठहर छ।

त्यसका साथै सरकारले गरेका विभिन्न संवैधानिक नियुक्तिहरु असंवैधानिक भएको ठहर गर्दै पार्टीले त्यसको विरोध समेत गरेको छ। महामन्त्री सिंहले नेकपाको फुटले त्यो संगठनलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै प्रभाव पार्ने आफ्नो पार्टीको विश्लेषण सही सावित भएको दाबी गर्दै विभिन्न साम्राज्यवादीहरूले देशभित्र गरिरहेको चलखेलप्रति सतर्क गराएका छन्।