काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनविरुद्ध तीन दल सर्वोच्च अदालत जाने भएका छन्। नेपाली काँग्रेस, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको सोमबार बसेको संयुक्त बैठकले साझा रिट निवेदन लिएर सर्वोच्च अदालत जाने तयारी गरेको हो।
प्रतिनिधिसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित मङ्गलवार नेपाली काँग्रेसका सभापति देउवा, नेकपाबाट प्रचण्ड-नेपाल समूह र जसपाका तर्फबाट साझा रिट निवेदन लिएर सर्वोच्च अदालत जाने तयारी भएको बताइएको छ। प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको विरोध र संविधानको रक्षाका लागि सबै दलहरूले साझा रिट दायर गर्न लागेका नेपाली काँग्रेसका नेताले जानकारी दिएको छ।
यसका लागि वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले दलहरूका तर्फबाट दायर गरिने रिटको मस्यौदा तयार गरिरहेका छन्। अधिवक्ता बन्दीले बहुसंख्यक सांसदहरूको हस्ताक्षरसहित नेपाली काँग्रेस, नेकपा र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूका तर्फबाट मङ्गलवार सर्वोच्च अदालत रिट दायर हुने बताए। नेकपाको असन्तुष्ट पक्ष, नेपाली काँग्रेस र जसपाको सोमबार बसेको बैठकले यसबारे निर्णय गरेको र नेपाली काँग्रेसको नेतृत्वमा सानेपामा बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भइरहेको छ।
सबै दलको सहमतिमा निवेदनको मस्यौदा भइरहेको हो। प्रतिनिधिसभामा २७५ जना सांसद हुन्छन्। तीमध्ये १३८ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा संसद् विघटनको निर्णय रोक्न माग गर्दै मङ्गलवार बिहान निवेदन लिएर जाने तयारी भएको अधिवक्ता बन्दीले बताए।



लोकपाटी न्यूज

