काठमाडौँ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक रुपले गलत रहेको बताएका छन्। मुलुकमा भइरहेको राजनीतिक र संवैधानिक घटनाले आफू दुःखी र मर्माहत बनेको उनले सुनाए।
त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सोमबार सम्बोधन गर्दै उनले भने, ‘मलाई हिजोको घटनाले मर्माहत र दुःखी बनाएको छ, प्रधानन्त्री र राष्ट्रपतिले चालेको स्टेप संवैधानिक, राजनीतिक र नैतिक रुपमा मिलेको छैन।’ आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अनुमोदनलाई पूर्वराष्ट्रपति यादवले संविधानविपरीत चालिएको स्टेप भएको बताए।
संविधानको मर्म भावनाविपरीत गरिएको कार्यले देशवासीले राष्ट्रपति संस्थामाथि नै प्रश्न उठाएको उनले जनाए। ‘एउटा होइन, दुई वटा संविधानबाट जनताले धेरै खुन पसिना बगाएर संविधान, धर्मनिरपेक्षता, संघीयता आएको हो,’ उनले भने, ‘यो संविधान र जनताको सर्वोच्च निकाय संसद्बाट समस्याहरुको छिनोफानो गर्दै अघि बढनुपर्ने अहिलेको आवश्यकता हो।’ ७७ वर्षको बलिदान र संघर्षको उपलब्धि गुम्न लागेको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले संवैधानिक बाटोबाट अघि बढ्न पनि सुझाव दिए।
उनले संविधानमा नै नभएको स्टेप चाल्दा राष्ट्रपति जस्तो संस्थाले जनतालाई अभिभावकत्व दिन नसकेको गुनासो गरे। ‘प्रधानमन्त्री, राष्ट्रपति जस्तो संस्थामाथि म कहिल्यै बोल्न गरेको छैन, हिजोको घटनाले मर्माहत भएको छु, अब बोल्छु,’ उनले थपें, ‘राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न सक्नुभएन।’ राष्ट्रपतिको पदमा बस्ने व्यक्ति उत्तरदायित्व पूरा गर्न चुकेको उनले औंल्याए। असंवैधानिक संसद् भंगले लोकतन्त्रिक गणतन्त्रको बाटोलाई समेत आघात पुगेको उनले बताए। ‘अहिलेका सम्माननीय राष्ट्रपति र प्रधानन्त्रीले हस्ताक्षर गरेर दिएको संविधान मैले जनताका लागि अर्पण गरेको हुँ,’ उनले भने, ‘अहिले राष्ट्रपतिको संस्थालाई चोट पुगेको छ।’
जनताको सर्वोच्च निकाय संसद् भंग हुँदा आफूजस्तै ३ करोड जनता मर्माहत भएको उनले जनाए। पूर्वराष्ट्रपति यादवले सम्बोधनको अन्त्यमा भने, ‘आशा र विश्वास गर्छु। यसमा सम्मानित सर्वोच्च अदालतको ध्यान पुगोस्, पुग्नैपर्छ। मेरो विनम्र अनुरोध पनि गर्छु।’ दीक्षान्त समारोहमा लिखित मन्तव्य दिएका उनले सम्बोधनको अन्त्यमा प्रतिनिधिसभाको असंवैधानिक विघटनको विषयमा प्रंसग निकाल्दै बोलेका थिए।


लोकपाटी न्यूज

