काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा फुटिहाल्छ कि भन्ने भ्रममा नरहन आग्रह गरेका छन्। मुलुकको प्रचलित कानुन र संविधानले नेकपा विभाजन हुन नदिने नेता खनालले बताए। यद्यपि पार्टी फुटाउने प्रयास भने भइरहेको उनले बताए।
‘पार्टी कानुन, संविधानबमोजिम फुटाउन सक्नुपर्छ। संविधानले पार्टी फुटाउन दिँदैन। हामी पार्टी फुटाउने पक्षमा छैनौँ। बहस छलफलबाट हामी पार्टीलाई बलियो बनाउन चाहन्छौँ। बहस, छलफलबाट आत्तिनु पर्दैन,’ खनालले भने, ‘ठूल्ठूला बहस गर्ने शास्त्रीय परम्परा हो। ऋषिमुनिहरू बहस गर्थे।’ नेकपा एकताबद्ध भएर जाने विषयमा आशंका नगर्न पार्टी पंक्तिमा उनले अपिल पनि गरे।
उनले पार्टी अहिले आन्तरिक रूपान्तरणबाट गुज्रिरहेको बताए। पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास पनि निरर्थक हुने खनालको भनाइ छ। ‘नेकपा फुटिदिन्छ कि, मैलेचाहिँ ठुलो भाग खान पाउँछु कि, मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ,’ उनी भन्छन्, ‘रोटी बेलिसकेको हो भने पनि सेकाउने ठाउँ पाउनुहुन्न।’



लोकपाटी न्यूज

