अध्यक्षद्वयलाई पुनको आग्रहः ‘तपाईंहरू बिदा हुनुहोस्, पार्टी र सरकार हामी चलाउँछौं’

Barsaman_pun
लोकपाटी न्यूज

रोल्पा। उर्जा मन्त्री एवं नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीको दोस्रो पुस्ता नेतृत्व लिन तयार रहेको बताएका छन्। रोल्पाको लाकुरीमा आयोजित कार्यक्रममा पुनले दुबै अध्यक्ष नेतृत्व हस्तानतरण गर्न तयार भए युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका हुन्।

‘दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई नेतृत्व दिन तयार छौं भनेर निर्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ,’ उनले भने,’उहाँहरूले भन्न सक्नपर्छ। हामी उहाँहरूलाई अभिभावक मान्न तयार छौं। तर यो आवेग र उत्तेजनामा आएर गर्ने होइन। हामीले विधिसम्मत ढंगले टुंगो लगाउनु पर्छ। हामी त्यसका लागि तयार छौ।’

नेकपा अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीको नेतृत्व युवालाई हस्तान्तरण गर्ने प्रस्ताव ल्याएको सन्दर्भमा नेता पुनले सो अभिव्यक्ति दिएका हुन्। उनले नेतृत्व युवालाई हस्तान्तरण गर्ने कुरा आवेग र उत्तेजनामा घोषणा गर्ने विषय नभएको पनि बताए। उनले भने, ‘यो विवेकले, प्रक्रियासम्मत ढंगले पार्टीले निर्णय गर्ने विषय हो।’ जनताको म्यान्डेटले एकता भएकोले एकता कमजोर नहुने पनि उनले बताए।

‘पार्टीको विवादले देशमा समस्या हुन्छ कि भन्ने चिन्ता छ। हामी त्यसमा जान दिँदैनौ। संविधानले प्रदान गरेको अधिकार गुम्न दिँदैनौं,’ उनले भने,’पार्टीको बहस कहिले उच्च प्रवाहमा र कहिले न्यूनमा हुन्छ। यसले पार्टीलाई नयाँ ठाउँमा पुर्‍याउँछ। ठूला विवादको निरूपण महाधिवेशनबाट गर्छौं। साना विवादको निरूपण केन्द्रीय कमिटीले गर्छ।’