काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा देखिएको अहलेको समस्या दुई अध्यक्षबीचको मात्र हो भनेर नबुझ्न समेत आग्रह गरेका छन्। पार्टीमा दुई अध्यक्ष मिलेपछि भइगयो भन्ने बुझाइकै कारण पार्टीभित्र समस्या बढ्दै नेता नेपालले बताए।
शनिवारको सचिवालय बैठकमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले पार्टीका दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) मिल्नुपर्ने भनी प्रस्ताव राखेका थिए। महासचिव पौडेलले राखेको प्रस्तावको जवाफमा नेता नेपालले भने, ‘एकता जोगाउनेबारे कार्यकर्तामा चिन्ता छ, तर समस्या हल गर्न दुई अध्यक्ष मिलेर मात्रै हुँदैन।’
सचिवालयमा दुई अध्यक्षको तर्फबाट पेस हुने बेग्ला-बेग्लै राजनीतिक प्रस्तावले विभाजनको खतरा रहने भएकोले एकल प्रतिवेदन ल्याउनु पर्नेमा महासचिवसहित केही नेताहरूले जोड दिइरहेका थिए। शनिवारको सचिवालय बैठकमा पनि महासचिव पौडेलले पुनः पनि एकल प्रतिवेदनमा जोड दिएका थिए। पार्टी एकताको रक्षाका लागि दुई अध्यक्षबीच समझदारी हुनु आवश्यक रहेको उनको तर्क छ। यसअघि पनि दुई अध्यक्ष बिच सहमति गरेर एकता प्रक्रिया अगाडि बढाउने गरिएको थियो।
त्यसलाई नेता नेपालले ‘चोचोमोचो’को संज्ञा दिँदै आएका छन्। शनिवार पनि नेपालले अहिले देखिएको समस्या दुई अध्यक्षको मात्रै नभएर पार्टीकै भएको बताएका थिए। ‘पार्टी कमिटीले निर्णय गरेर समस्या हल हुन्छ, कुनै व्यक्तिहरू मिलेर मात्रै हुँदैन’, नेपालको भनाइ उधृत गर्दै स्रोतले भन्यो।
विगतमा माइन्युट च्यात्नेसम्मको काम बैठकमै भएको सम्झाउँदै नेपालले भनेका थिए, ‘बैठकले निर्णय गर्ने भएपछि नेतृत्वले माफी माग्छु भन्दा समेत माफी नदिएर कारबाही गरिएको थिएन ? पार्टी त फुटेको थिएन।’ अहिले पनि अमूक व्यक्तिको कारण पार्टी नफुट्ने उनको भनाइ थियो।
प्रधानमन्त्रीकै कारण पार्टीमा सङ्कट आएको नेता नेपालले बताएका थिए। ‘बैठक बस्नु पर्यो भन्दा अध्यक्ष (ओली) ले पदलोलुपको आरोप लगाएर पत्र लेख्न मिल्थ्यो ? बैठक बोलाएको भए कुरै सकिन्थ्यो’, नेपालले भनेका थिए। अब पार्टी कमिटीले गर्ने निर्णय दुई अध्यक्षले मान्नुको विकल्प नभएको उनको भनाइ छ।



लोकपाटी न्यूज

