बैठकमा ओलीले भने : ‘मेरो प्रस्तावमाथि मात्र छलफल हुन्छ, प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्छ’

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिवार बसेको पार्टी सचिवालय बैठकमा ५३ बूँदे प्रस्ताव पेस गरेका छन्। बैठकमा ओलीले आफ्नो दस्ताबेजमा समेटिएका विषयहरूको संक्षेपमा व्याख्या गरेका थिए।

सचिवालयका एक सदस्यका अनुसार सुरुमै ओलीले यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रस्ताव अस्वीकार गरे। उनले त्यसलाई राजनीतिक प्रस्ताव भन्नै नमिल्ने र ‘आरोप पत्र’को संज्ञा दिए। ओलीले प्रचण्डको प्रस्तावमाथि पार्टीको बैठकमा औपचारिक रूपमा छलफल हुनै नसक्ने बताए।

शनिवारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षका प्रस्तावहरू अध्ययन गरेर १६ गतेको सचिवालय र त्यसपछिको स्थायी कमिटीमा छलफल गरिने निर्णय भएको सुनाएका थिए। तर प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि कुनै हालतमा कमिटी बैठकमा छलफल हुन नसक्ने अडान दोहोर्‍याएका हुन्।

‘प्रचण्डले आफ्नो फिर्ता लिएर माफी माग्नु पर्छ, बहुमत र अल्पमतको बलमा गर्न खोजेको कुरा मानिँदैन,’ ओलीको भनाई उद्धृत गर्दै नेकपाका एक नेताले भने, ‘आगामी सचिवालय तथा कुनै पनि पार्टी कमिटीका बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल गर्न आफू तयार नभएको कुरा प्रधानमन्त्रीले राख्नुभयो।’

ओलीले आफ्नो सम्बोधनमार्फत बहुमत-अल्पमतमा गए एकता तोडिने सङ्केत गरेका छन्। बैठकमा बोलेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।