काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको पुरानै सोच र दृष्टिकोणमा नै गम्भीर त्रुटी रहेको बताएका छन्। शनिबारको सचिवालय बैठकमा नेता नेपालले ओलीले फराकिलो ढंगले सोच्नै नसक्ने बताएका हुन्। उनले बालुवाटारबाट नै गुटबन्दी भएको बताएका थिए।
‘बालुवाटार बसेर गरेको गुटबन्दीचाहिँ गुटबन्दी नहुने हामी भेट्दा गुटबन्दी हुने ? गुटबन्दीको परिभाषा चाहियो । हामीले गुटबन्दी गरेका छैनौं। बालुवाटारबाट भएको छ,’ नेपालको भनाई थियो। नेपालले नेपालले दुई अध्यक्षको अन्तर्विरोध वा दुई अध्यक्ष मिलेर सबै मिल्ने भन्ने सोचाई गलत भएको पनि बताएका थिए। ‘अन्तर्विरोध दुई अध्यक्षको वा दुई अध्यक्ष मिल्दा सबै मिल्ने भन्ने होईन। हामी कसैका एसम्यान हैनौं। छाप लगाउने मान्छे होइनौं,’ उनले भनेका थिए।
नेता नेपालले पार्टीमा अन्तरविरोध हुने भन्दै नेकपा मालेमा हुँदा बैठकमा माइन्युट च्याताच्यात भएको प्रसंग निकालेका थिए। ‘पार्टीमा यस्ता विवाद भईराखेकै हुन्छन् नि। नेकपा मालेमा माइन्युट च्याताच्यात भएको होइन ? राजीनामा फालाफाल भएको होइन ? बहुमत अल्पमत हुँदैनथ्यो ?’ नेता नेपालको भनाई थियो, ‘यस्तो अन्तविरोध हुन्छ, यसलाई हल गरिन्छ। यसको आधारमा कसैले पार्टी फुटाउन खोज्छ भन्ने त्यो ठिक होइन।’
उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षको सहमतिमा बैठक बोलाउने भन्ने कुरा नै गलत भएको बताएका थिए। ‘दुवै अध्यक्षका कुरा आए, त्यो राम्रो भयो। तर बैठक बोलाउन सहमति भन्ने कुरा गलत छ। जसले माग गरे पनि सचिवालय बैठक बोलाउनु पर्छ। दुई अध्यक्षमध्ये एकले बैठक बसौं भने पनि बैठक बोलाउनु पर्छ,’ बैठकमा गौतमले भनेका थिए, ‘बैठक बोलाउन पनि अन्तर्वस्तुमा सहमति खोज्ने बेठिक विधि छ। सच्चाउनुपर्छ।’



लोकपाटी न्यूज

