केपी ओलीले चारपटक पार्टी फोर्न खोज्नुभयो, माधव कमरेड र मैले रोक्यौं : प्रचण्ड

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले चार पटकसम्म पार्टी फुटाउन कोसिस गरेको बताएका छन्। शनिवारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले आफूसहित सचिवालयका अन्य वरिष्ठ नेताहरूको धैर्यताका कारण पार्टी एकताको रक्षा हुँदै आएको बताएका हुन्।

उनले भनेका थिए, ‘स्थायी कमिटीले कुनै पनि प्रतिष्ठानका गतिविधि बन्द गर्ने भनेको थियो। चार पटक तपाईँले पार्टी फुटाउन खोज्नु भएको छ। तर, हामीले धैर्यपूर्वक पार्टी एकताको रक्षा गर्दै आएका छौँ। अहिले पनि रक्षा गर्न दृढ छौँ।’ नेकपाका एक नेताका अनुसार बैठकमा प्रचण्डले पार्टी फुटाउन ओलीबाट भएका प्रयत्नबारे बुँदागत रूपमा चर्चा समेत गरेका थिए।

प्रचण्डको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘पहिलो, केन्द्रीय कमिटीको सफल बैठकपछि आफ्ना गुटका साथीहरूको भेला गरेर प्रचण्ड र माओवादीलाई एकल्याउन पर्छ र आफ्नो गुटको गतिविधिलाई व्यवस्थित रूपमा अगाडि बढाउनु पर्छ भनेर निर्णय गर्नुभयो। दोस्रो, अध्यादेश ल्याउँदा नै फुटाउने कदम चाल्नु भएको हो। तेस्रो, एमाले दर्ता गर्नुभयो निर्वाचन आयोगमा। चौथो, स्थायी कमिटीको बैठकपछि पनि मदन भण्डारी फाउन्डेसनको गतिविधिलाई वडासम्म लैजान निर्देशन दिनुभयो र फुटको निम्ति सङ्गठनात्मक आधार तयार पार्ने काम गर्नुभयो।’

राजनीतिक प्रस्ताव र पत्र समेटेर बुकलेट किन प्रकाशित भयो भन्ने ओलीको पश्नमा दाहालले भनेका थिए, ‘छलफल बहसका लागि पार्टी बैठकको लागि सहमति जनाउनुस् भनेर पत्र लेखेकै भरमा आरोपसहितको प्रतिउत्तर लेखेपछि मैले पनि प्रत्युत्तर र प्रस्ताव लेख्ने ठाउँमा पुगेको हुँ। दोस्रो, अघिल्लो सचिवालय बैठकमा तपाईँले बोलेको कुरा रेकर्ड गरेर बाहिर दिनुभएछ। तपाईँले दिएको प्रतिउत्तर पनि बैठकभन्दा पहिला मिडियामा आयो। त्यो दिन तपाईँले बोलेको कुरा टेप रेकर्ड उतारेर हुबहु मिडियामा गयो भनेपछि के बाँकी रह्यो ? त्यसो भएपछि बरु सबै दस्तावेजलाई अध्ययनको सजिलोको लागि एकै ठाउँ राखेको हो। आज तपाईँले बोलेको कुरा पनि मलाई शङ्का छ कि तपाई मिडियाको लागि नै बोल्नु भएको होला।’

ओलीको प्रस्ताव र अभिव्यक्तिलाई लिएर दाहालले बैठकमा अहंकार र दम्भ देखाएको आरोप लगाए थिए। ‘तपाईँलाई कहिल्लै पनि आफ्नो गल्तीतिर फर्किन मन लाग्दैन। तपाईँको आजको प्रतिउत्तरमा पनि अहंकार र दम्भ छ। तपाईंमा आत्मसमीक्षा गर्ने भन्ने प्रवृत्ति नै रहेनछ। तैपनि तपाईँले प्रतिउत्तर पेस गर्नुभयो। त्यसलाई सकारात्मक रूपमा लिएको छु। छलफल गरौँ र पार्टी एकतालाई नै योगदान पुर्‍याउने गरी निष्कर्ष निकालौं।’

यस्तै, वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णय मान्नुपर्ने बताएका थिए। ‘अहिले पार्टीमा तिक्त्तता, अन्तरविरोधहरु देखा परेका छन्। तर यसबाट आतंकित हुनुपर्ने, भाग्नु पर्ने, पार्टी फुटको संघारमा पुगियो भनेर निष्कर्ष निकाल्नु पर्ने छैन। कहिलेकाही पार्टीमा यस्तो हुन्छ । अब दुवै दस्तावेजहरुलाई छलफलमा लैजाऔं। एउटा निष्कर्ष निकालौं। पार्टीको बैठकले जे निष्कर्ष निकाल्छ, त्यसलाई सबैले मान्नु पर्छ,’ नेता खनालको भनाई उद्धृत गर्दै अर्का एक नेताले भने।

दुई अध्यक्षको सहमतिबाट नै सबै हल खोज्ने भन्ने चिन्तन नै गलत भएको र पार्टी कमिटीबाट नै हल खोज्नुपर्ने नेता खनालको भनाई थियो। ‘पार्टीलाई विधिबाट चलाउनुपर्छ। दुई अध्यक्षको सहमतिबाट नै सबै कुरा गर्ने भन्ने चिन्तन नै गलत हो,’ उनले भनेका थिए, ‘केन्द्रीय कमिटी सर्वोच्च संस्था हो। सचिवालय, स्थायी कमिटीमा छलफल गरेर केन्द्रीय कमिटीमा जानुपर्‍यो भने त्यहाँबाट निर्णय गर्नुपर्छ र सबैले मान्नु पर्छ।’