काठमाडौं। नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बहुमतको विधि अवलम्बन गर्नेभए पहिले पार्टी एकताको आधार फेर्नु पर्ने बताएका छन्। सचिवालयमा आज उनले पेस गरेको राजनीतिक प्रतिवेदनमा बहुमत र अल्पमतबाट पार्टी सञ्चालन गर्नेभए पार्टी विधान संशोधन गर्नुपर्ने विषय पनि उठाएका छन्।
सचिवालय बहुमतका सदस्यहरूले बहुमत र अल्पमतबाट पार्टी सञ्चालन गर्ने अठोट लिएका हुन भने आफू पनि त्यसको लागि तयार रहेको ओलीले बताएका छन्। आफूले प्रतिस्पर्धाबाट विजय हासिल गरेर पार्टी देखि सरकारको नेतृत्व हासिल गरेको उनले उल्लेख गरेका छन्। ओलीले प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गर्न तपाईँ तयार हो ? भनेर आफू इतर समूहलाई प्रश्न पनि गरेका छन्।
‘आज तपाईँले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ। आफ्ना सहयोद्धा कमरेडहरुको भावना होइन, टाउका गन्न थाल्नु भएको छ। कित्ताकाट गर्न थाल्नु भएको छ। सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एक जना भए पनि बढी सङ्ख्या छ,’ प्रतिवेदनमा भनिएको छ, ‘बहुमतको त्यो अङ्कगणित तपाईँका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ? ठिकै छ, यो विधि अवलम्बन गर्ने हो भने पनि पहिले एकताको आधार फेरौं, अनि विधान संशोधन गरौँ। मैले त पार्टीका हुन् कि राज्यका, हरेक जिम्मेवारी प्रतिस्पर्धामा विजय हासिल गरेरै प्राप्त गरेको हुँ। महाधिवेशनबाट विचार, सङ्गठन संरचना र नेतृत्व खुल्ला प्रतिस्पर्धाका आधारमा चयन गर्न तपाईँ तयार हो ? म त तयारै छु।’



लोकपाटी न्यूज

