काठमाडौं। नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट गठबन्धनको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि आफूलाई प्रधानमन्त्री हुनबाट रोक्न खोजिएको बताएका छन्। सचिवालयमा आज पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले जनताबाट बहुमत प्राप्त गरे पनि आफूलाई पहिलो गासमै ढुङ्गा लागेको बताए।
उनले भनेका छन्, ‘गठबन्धनको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार बन्न कृत्रिम अवरोध सिर्जना गरियो। प्रतिनिधिसभामा १६ सिट जितेको संघीय समाजवादी फोरमले सबैभन्दा ठूलो पार्टीलाई बाहिर राखेर सरकार बनाउनु गलत हुने कुरा गरेपछि मात्रै घटनाक्रमले सहज मोड लिएका हुन्। तर मैले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्ने दिन दुवै पार्टीका साथीहरूलाई साथै राखेर सानो टिम बनाउन पाइनँ। जनताले पहिलो गासमै ढुङ्गा लागेको अनुभव गरे।’
ओलीले आलोपालो प्रधानमन्त्रीको लिखित सही नहुञ्जेल सरकारले पूर्णता पाउने वातावरण नबनेको स्मरण गरेका छन्। त्यति बेला कार्यकारी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने प्रयास थालेको पनि उल्लेख गरेका छन्। पार्टी एकताका लागि अहिले बाहिर चर्चामा रहेको जस्तो प्रचण्डले त्याग नगरेको ओलीको ठहर छ।
उनको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘२०७४ फागुन ७ गते राति ‘दुई अध्यक्ष र आलोपालो प्रधानमन्त्री’को लिखतमा सही नहुञ्जेल सरकारले पूर्णता पाउने वातावरण बनेन। एउटै चुनावी घोषणापत्र सहित, वाम गठबन्धन बनाएर चुनाव लडेको पार्टीका नेताको हैसियतमा तपाईँले अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने प्रयास गर्नु नैतिकताको कसीमा कहाँनिर उभिन पुग्थ्यो ? चुनावबाट तेस्रो पार्टीका रूपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्त्याएँ’ भन्नु त्याग थियो कि तपाईंभित्र सुषुप्त रूपमा लुकेको सत्तालिप्सा ?’
प्रचण्ड आफ्नो दलको सरकारविरुद्ध सुरु देखिनै लागिरहेको ओलीको आरोप छ। उनले राज्यका संयन्त्रमाथि अनधिकृत हस्तक्षेप गर्ने र दबाब दिन चेष्टा प्रचण्डबाट बारम्बार भएको उल्लेख गरेका छन्। प्रतिवेदनमा भनिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षामा तपाईँ सहमत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यस राष्टिनुहुन्छ भने यस राष्ट्रिय आकांक्षा पुरा गर्न दृढतापूर्वक लागेको आफ्नै दलको सरकारलाई गठन हुँदाको प्रारम्भ देखिनै असहयोग गर्ने नियोजित सरकार विरुद्ध षडयन्त्र गर्ने, राज्यका संयन्त्रमाथि अनधिकृत हस्तक्षेप गर्ने र दबाब दिने चेष्टा किन गर्न खोजिएको छ ? इतिहासले जवाफ खोज्ने छ।’



लोकपाटी न्यूज

