प्रचण्डले एकताको पहिलो सहमति नै उल्ट्याएका थिएः ओली

KP Sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनावी गठबन्धन र चुनावपछि पार्टी एकता गर्ने पहिलो सहमतिमा नै अडिन नसकेको आरोप लगाएका छन्। उनले सहमति भएको २४ घण्टामा नै महत्त्वपूर्ण निर्णय उलङ्घन गरेको आरोप राजनीतिक प्रतिवेदनमा लगाएका छन्।

प्रचण्डले अघिल्लो दिन एउटै चुनाव चिह्न ‘सूर्य’ मा चुनाव लड्ने भनेर गरेको हस्ताक्षरलाई अस्वीकार गरेको ओलीले बताएका छन्। प्रतिवेदनमा भनिएको छ, ‘आम जनतालाई हर्षित र अरूलाई विष्मित पार्दै २०७४ साल असोज १४ गते हामी दुई जना नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बिच चुनावी गठबन्धन गर्ने र चुनावपछि पार्टी एकता गर्ने सहमतिमा आइपुग्यौँ । यो नेपालको राजनीतिक तस्बिर बदल्ने दूरगामी घटना थियो । तर तपाईँ यस सहमतिको एउटा महत्त्वपूर्ण बुँदामा २४ घण्टा पनि अडिनु भएन । अघिल्लो दिन एउटै चुनाव चिह्न ‘सूर्य’ मा चुनाव लड्ने भनेर गरेको हस्ताक्षरलाई अस्वीकार गर्न पुग्नुभयो।’

तपाईँलाई केही अप्ठेरो परेको हुला भन्ने अर्थमा बुझेर आफूले त्यति बेला प्रश्न नउठाएको उनले बताएका छन्। तर प्रचण्डको उक्त निर्णय मानेको भए निर्वाचनमा लाखौँ मत बदर नहुने प्रतिवेदनमा उल्लेख छ। ओलीले २४ घण्टामै सहमति उल्ट्याउन कसको दबाब र प्रभावमा पर्नुभएको थियो भन्दै प्रचण्डसँग प्रश्न गरेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘मैले यसलाई तपाईँलाई अप्ठ्यारो परेको अर्थमा बुझेँ र यसबारे कुनै प्रश्न उठाइनँ। तर निर्वाचनमा हामीले यसको मूल्य चुकायौँ। नेकपालाई एक्लै दुई तिहाइ पुर्‍याउन सघाउने लाखौँ मतहरू यसै कारणले बदर भए। अरुबेला भए मैले सोध्ने थिइनँ, तर आज जब तपाईँ प्रकारान्तरले एकताको औचित्य समाप्त भएको घोषणा गरे जसरी प्रस्तुत हुनुभएको छ, सोध्न मिल्छ होला नि- २४ घण्टामै सहमति उल्ट्याउने यो निर्णय तपाईँले कसको दबाब र प्रभावमा गर्नुभएको थियो? अनि, यसले पनि तपाईँ सधैँभरि सहमतिको पक्षधर भएको पुष्टि गर्छ र ?’