काठमाडौं। नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नै सहयोद्धा अध्यक्षमाथि ‘अभियोगपत्र’ लगाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक रुपमा पार्टी विभाजको घोषणा गरेको बताएका छन्। आज बसेको सचिवालय बैठममा ओलीले छुट्टै राजनीतिक प्रतिवेदन पेश गरेर सो कुरा बताएका हुन्। उनले प्रचण्डको दस्ताबेजले आम नेता कार्यकर्ता र जनतामा विभाजको चिन्ता फैलाएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन्।
ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘तपार्इंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ। पार्टी एकीकरण अगाडिका, त्यस क्रममा भएका र त्यस यताका समग्र समझदारी र सोच विपरीत, आम निर्वाचनका क्रममा जनतामाझ गरिएका सङ्कल्पका विपरीत, पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरणको घोषणाको भावना तथा प्रावधान विपरीत एवं आम पार्टी पङ्क्ति, समर्थक-शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहना विपरीतको यस ‘प्रस्ताव’ ले देशैभरि चिन्ता फैलाइदिएको छ।’
प्रचण्डले एक्कासी दस्ताबेज ल्याएपछि राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएको पनि बताएका छन्। उनले भनेका छन्, ‘तपाईँको झुठो आरोप- पत्र हात-हातमा बोकेर विपक्षीहरु हिँड्न थालेको देखिसक्नु भएको होला। उनीहरु दङ्ग होलान्- नेकपालाई खुइल्याउन हामीले त केही गर्नै नपर्ने भयो ! जनता भने पीडामा छन्। यो यति गंभीर विषय हो, जसलाई यस्तै हो भनेर छाड्न मिल्दैन। तपाईंले पार्टीका नीति या विधान सम्बन्धी प्रश्नमा मात्रै मलाई लाञ्छित गर्नुभएको छैन, मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोप समेत लगाउनु भएको छ। यति गम्भीर आरोप लागेको मान्छे ‘आत्मालोचना’ गरेर पनि उम्किन सक्दैन, आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधान अनुसार कार्बाहीको भागिदार बन्नु पर्छ।’
उनले आफूमाथि लगाएका आरोप पुष्टि गर्न पनि चुनौति दिएका छन्। यदि आरोप पुष्टि गर्न नसके त्यसको जवाफदेहि बन्न तयार हुनुपर्ने ओलीले भनेका छन्। ‘तपार्इँलाई मेरो चुनौती छ- कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्,’ प्रतिवेदनमा उल्लेख छ।



लोकपाटी न्यूज

