प्रधानमन्त्रीले नै भ्रष्टाचारलाई बढवा दिइरहेका छन्ः नेता शाह

bharat_shah
लोकपाटी न्यूज

बुटवल। नेपाली काँग्रेसका नेता भरतकुमार शाहले सरकारले भ्रष्टाचारलाई प्रोत्साहन दिएको आरोप लगाएका छन्। शनिवार बुटवलमा पत्रकारहरूसँगको साक्षात्कारमा सार्वजनिक लेखा समितिका सभापति नेता शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण दिएर भ्रष्टाचारलाई बढवा दिएको आरोप लगाएका हुन्।

‘सरकारले अरूलाई काम गर्न दिन्न, सरकारसँग पैसा, शक्ति, पुलिस आर्मी, प्रशासन छ, यसले नियुक्ति पनि त्यहीबाट हुने भएकाले दबाब दिएपछि कसरी कारबाही हुन्छ’ उनले भने। सभापति शाहले अहिलेको नेकपाको आन्तरिक किचलो पनि भ्रष्टाचारकै सवाल भएको आरोप लगाए। भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपामा विवाद उत्पन्न भएको नेता शाहको आरोप छ।

नेकपाभित्र विवादको कारण सैद्धान्तिक र राजनीतिक नभएको उनको टिप्पणी छ। ‘नेकपाको झगडा पद र आर्थिक लोभका लागि हो,’ शाहले भने, ‘औषधी खरिददेखि ठेक्कापट्टामा देखिएका घटना यसको उदाहरण हो।’ उनले नेकपाभित्रको आन्तरिक द्वन्द्व र सरकारको भ्रष्टाचारका कारण देश बरबादीको दिशामा गएको समेत धारणा राखे।