ओलीले राजीनामा दिएर पार्टी एकता बचाउनुपर्छः जनार्दन शर्मा

Janardan Sharma
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले आफूलाई नेता प्रमाणित गर्न पार्टीलाई विधिमा चलाएर देखाउन चुनौती दिएका छन्। सामाजिक सञ्जालमार्फत नेता शर्माले आफूलाई नेता प्रमाणित गर्न आफू हारेर पार्टीलाई बचाउने बेला आएको बताएका छन्।

आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफैभित्रको इमान नापेर हेर्नुपर्ने उनको तर्क छ। व्यवहारमार्फत सिद्धान्त, विधि र पद्धतिलाई प्रमाणित गर्न समय आएको बताए। उनले लेखेका छन्, ‘आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफै भित्रको इमान नापेर हेर। संस्थागत मूल्य बोध गर। सिद्धान्त विधि पद्धतिलाई व्यवहारमा लागु गरेर प्रमाणित गर।’

पार्टी एकता सङ्कटमा रहेको सङ्केत गर्दै नेता शर्माले जसले पार्टी एकता बचाउन त्याग गर्न सक्छ वास्तविक अर्थमा त्यही व्यक्ति नेता हुने धारणा राखे। पार्टीमा व्यक्तिवादी प्रवृत्ति स्थापित गर्नेले आफू नेता हुँ भनी दाबी गरेर मात्र नहुने उनको तर्क छ। व्यक्तिवादी सोच र प्रवृत्ति त्याग्दै आफूले हारेको दिन विधिले जित्ने शर्माले बताए। त्यसमा राष्ट्र, वर्ग र जनताको जीत हुने पनि उनले बताए।

उनले लेखेका छन्, ‘अनि आफू हारेर पार्टीलाई बचाएर भन म नेता हुँ। त्यसो भए विधिले जित्ने छ। यस पटक विधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ। अन्यथा …’