ओलीको प्रतिवेदन लेख्ने को–को ?

Pm_Kp_Oli_office
लोकपाटी न्यूज

काठमाडौं। सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज (शनिबार) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको असमझदारीका कारण उत्पन्न परिस्थितिले पार्टी एकतामै संकट देखापरिरहेका बेला ओलीले सचिवालयमा आफ्नो तर्फबाट प्रस्ताव पेस गर्ने कार्यसूची छ।

‘प्रधानमन्त्रीले आफ्नो प्रस्ताव तयार पारिसक्नुभएको छ। प्रधानमन्त्रीले आफैं आफ्नो प्रस्ताव तयार पार्ने कुरा गर्नुभएको थियो’, उपप्रधानमन्त्री ईश्वर पोखरेलले भनेका छन्, ‘अर्का अध्यक्षले लगाउनुभएको आरोपपत्रको खण्डन गर्ने र सहमतिमा पार्टीलाई एकताबद्ध बनाएर कसरी अगाडि लैजाने भन्ने विषय समेटिएर उहाँको प्रस्ताव आउँछ।’

ओलीको प्रस्ताव सरकार र पार्टी सञ्चालन, पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पु¥याउने र एकतालाई अक्षुण्ण राख्ने साथै पहिला नै तोकेअनुसार महाधिवेशनको टुंगो लगाउनेजस्ता विषयमा केन्द्रित छ। आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त, पार्टीले सरकारका काममा सहयोग गर्न नसकेका विषयदेखि समग्र कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै अबको महाधिवेशनसम्म जाने विधि र बाटोका विषय पनि आउने बालुवाटार स्रोतले बताएको छ।

प्रधानमन्त्रीले महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको विषयलाई पनि आफ्नो प्रस्तावमा महत्व दिएर उठाउन लागेका छन्। ओलीले आफ्नो प्रस्ताव उपप्रधानमन्त्री पोखरेल, संसदीय दलका नेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतसँग छलफल र परामर्शका आधारमा तयार पारेका हुन्।

मंसीर ३ गतेयता ओली र प्रचण्डबिच सम्वाद हुन सकेको छैन। कार्तिक २८ को सचिवालय बैठकमा प्रचण्डको प्रस्तावपछि ओलीले आफूमाथिका आरोपको एकएक जवाफ दिने बताएका थिए। मंसीर ३ गतेयता ओलीनिकट नेताहरुले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने बताए पनि सहमति जुट्न नसकेपछि प्रधानमन्त्री निकटका नेताहरुले जवाफी प्रस्ताव तयार पारेका हुन्।

जवाफी प्रस्ताव कस्तो हुने भन्ने विषयमा ओलीनिकटकै नेताहरुको मत बाझिएको थियो। स्थायी समिति सदस्यहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ लगायतका नेताहरुले ओलीलाई नरम रुपमा प्रस्तुत हुन सुझाएका थिए भने ईश्वर पोखरेल, विष्णु रिमाल लगायतले कडा रुपमा प्रस्तुत हुन सुझाएका थिए।

प्रधानमन्त्रीको प्रस्ताव लेखनको मुख्य जिम्मेवारी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लिएको बताइन्छ। यसका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि प्रस्ताव लेखनमा सहभागी भएको र अरु नेताहरुले यी २ नेतालाई सघाएको बताइन्छ।

प्रचण्डले यसअघि ओलीले प्रमुख रूपमा गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसपछि ३ मंसिरमा बसेको बैठकमा ओलीले झुटा लाञ्छना नसहने स्पष्ट पार्दै जवाफ दिने बताएका थिए। दाहालले बैठकमा राखेको प्रस्ताव ‘प्रस्ताव’ नै नभएको ओलीको तर्क थियो।