रिजालको ईश्वर पोख्रेललाई प्रश्न : माओवादीसँग नमिलेको भए चुनाव जित्नुहुन्थ्यो ?

bishnu-rijal
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका केन्द्रीय सदस्य एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालले माओवादीसँग मिलेर चुनाव जितेका नेताहरु नै साविक माओवादीप्रति असहिष्णु भएको भन्दै ईश्वर पोखरेल लगायतका नेताहरुको आलोचना गरेका छन्।

शनिबार बिहान ट्वीट गर्दै रिजालले जो नेताहरु माओवादीको सहयोगले चुनाव जिते, उनीहरु नै साविक माओवादीप्रति कठोर हुनुको कारण आफूले बुझ्न नसकेको बताएका हुन्। रिजालले ट्वीटमा एकताकै कारण उनीहरुले पारिवारिक र राजनीतिक लाभ लिइरहेको पनि दावी गरेका छन्। पूर्वप्रधानमन्त्री माधव कुमार नेपालनिकट नेता रिजालले पोखरेललाई २०७० र २०७४ को चुनावी नतिजा तुलना गर्नसमेत भनेका छन्।

रिजालले ट्वीटमा लेखेका छन्, ‘‘माओवादीसँग एकता भएकै कारण एमालेका जो–जो नेताहरू व्यक्तिगत, पारिवारिक र राजनीतिक रूपमा लाभान्वित हुनुभएको छ, उहॉहरू नै साविक माओवादीप्रति कठोर र असहिष्णु हुनुको कारण बुझ्न सकिएन। ०७० मा एक्लै लड्दा र ०७४ मा माओवादीसँग मिलेर लड्दा क–कसले हारे/जिते, परिणाम हेर्दा हैसियत थाहा भइहाल्छ।’’

Bishnu Rijal tweet

नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पटकपटक चुनाव हार्दै आएको भए पनि एमाले–माओवादी समीकरणका कारण २०७४ को चुनाव झिनो मतले जितेका थिए। साविक माओवादीको सहयोग नभएको भए पोखरेलले २०७४ मा पनि चुनाव जित्न सम्भव नभएको नेकपाका नेताहरुको विश्लेषण छ।

पोखरेल मात्र होइन, साविक माओवादी नेताप्रति कठोर रुपमा उभिँदै आएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पनि माओवादीकै सहयोगका कारण चुनाव जितेका थिए। राष्ट्रिय राजनीतिमा कुनै चर्चामा नरहेका बाँस्कोटाले पनि त्यो यथार्थ भुलेर एकताविरुद्ध उभिएको नेताहरुको तर्क छ।