हेग के हो, कसरी चल्छ अन्तर्राष्ट्रिय अदालतमा मुद्दा ?

International_Court_ICC
लोकपाटी न्यूज

काठमाडौं। हेग नेदरल्यान्ड्सस्थित एक सहर हो, जहाँ संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) छ। ‘हेग’ यही अन्तर्राष्ट्रिय न्यायिक अड्डा हो, जहाँ संसारभरका युद्ध अपराधीहरूलाई मुद्दा चलाइने गरिन्छ। नेपालमा पनि संक्रमणकालीन न्यायिक प्रक्रियाको विषयलाई उठाएर ओलीले यही अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन चेतावनी दिन थालेका हुन्। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मानवताविरुद्धको अपराध, आम नरसंहार, युद्ध अपराध र क्रूर युद्धका अपराधमा संलग्न व्यक्तिहरूलाई सजाय दिन्छ।

नेकपामा हेगको प्रसंग किन ?

पछिल्लो स्थायी कमिटी बैठकले एकता प्रस्ताव पारित गर्दै दुवै पदमा निरन्तरता दिँदा पनि ओलीले आफूलाई पार्टीभन्दा माथि सर्वेसर्वा प्रवृत्ति देखाउन नछोडेकोले पार्टीमा विभाजनको खतरामा छ। सचिवालयमा दुई अध्यक्षको तर्फबाट पेस हुने बेग्ला-बेग्लै राजनीतिक प्रस्तावले विभाजनको खतरा बढाउने बुझाइ नेताहरूको छ। पार्टी विभाजनको खतरालाई ध्यानमा राखेर नेकपाका दुवै समूहले होसियारीका साथ एकले अर्कोलाई दबाबमा राख्ने रणनीति अख्तियार गरेका छन्। पछिल्लो समय उत्पन्न विवाद उत्कर्षमा रहेको बेला अब हुनसक्ने कतिपय कमजोरीले पार्टी विभाजन रोक्न कठिन हुने निष्कर्षसहित अन्तिम र निर्णायक दबाबको रणनीतिमा नेताहरू छन्।

कतिपय केन्द्रीय सदस्य पार्टी फुटको अवस्थामा जानुमा स्वयं अध्यक्ष ओली जिम्मेवार रहेको बताउँछन्। प्रचण्डले कार्यकारी अधिकार पाए पनि त्यसको प्रयोग गर्न पाएका छैनन्। कार्यकारी अधिकारमाथि समय समयमा ओलीले हस्तक्षेप गर्दै आएका छन्। सार्वजनिक रूपमा उनले आफू एक नम्बरको अध्यक्ष भएको र आफ्नो सहमतिमा नभएका निर्णय पालना नगर्ने अभिव्यक्ति दिँदै आएका छन्। व्यवहारतः उनले आफूले गरेका प्रस्तावहरूको समेत कार्यान्वयन गर्दैनन्। यसरी पार्टीनै ओली प्रवृत्तिको बन्दकीमा हुन पुगेको नेकपाका नेताहरू बताउँछन्। ओली प्रवृत्ति र कार्यशैलीको कारण अहिलेको परिस्थिति निम्तेको कतिपय नेताहरूको बुझाई रहेको छ।

प्रचण्डको हस्ताक्षरमा कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको र ओलीसँग असन्तुष्ट अन्य चार जना केन्द्रीय सचिवालय सदस्यहरूले समेत स्वामित्व लिएको राजनीतिक प्रस्ताव ओली प्रवृत्ति र कार्यशैलीको फेहरिस्त पनि हो। प्रस्तावमा प्रधानमन्त्री ओलीले नवउदारवादी पुँजीवाद पछ्याइरहेको आरोप थियो। ‘उहाँ न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ, न समाजवाद उन्मुख जनताको जनवादको, न कहिल्यै समाजवादी आर्थिक, राजनीतिक, सांस्कृतिक नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नुभएको छ। व्यवहारतः उहाँले दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहन गर्ने नवउदारवादी पुँजीवादलाई नै पछ्याइरहनुभएको छ,’ प्रस्तावमा भनिएको छ।

सोही प्रस्तावलाई काउण्टर दिन अध्यक्ष ओलीले जवाफ पत्र तयार पारेका छन्। उनले आइतबार बस्ने सचिवालय बैठकमा आफ्नो जवाफ पत्र प्रस्तुत गर्ने छन्। राजनीतिक रूपमा लगाएका आक्षेपको जवाफ राजनीतिक रूपमै र व्यक्तिगत रूपमा लगाएका आक्षेपको जवाफ व्यक्तिगत रूपमै दिने तयारी प्रधानमन्त्री ओलीको रहेको बुझिएको छ। ओलीले आफ्ना पार्टीका कार्यकारी ‘प्रचण्ड’लाई जघन्य अपराधी र मानवअधिकार उल्लंघनकर्ताका रूपमा ‘हेग’मा पुर्‍याउने विचारसहित प्रस्तावलाई अन्तिम रूप दिएको बताइएको छ।

त्यसको प्रतिउत्तरमा ओलीलगायत उनी पक्षधरका नेताहरू सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, विष्णु रिमाललगायतले अन्तिम रूप दिएको ४० पाने प्रस्तावमा प्रचण्डले मानवता विरोधी अपराध गरेको, त्यो विश्वव्यापी विषय भएको भन्दै त्यसमा अन्तर्राष्ट्रिय फौजदारी कानुन आकर्षित हुनसक्ने घुमाउरो चेतावनी दिइएको खबरहरू पनि प्रकाशित भइरहेका छन्। ओलीले पार्टीमा आफू अल्पमतमा परेको अवस्थामा पार्टीका नेताहरूलाई विभिन्न बहानामा धम्काउने गरेका छन्। ओली प्रवृत्ति र कार्यशैलीको विरोधमा पार्टीभित्र बहुतम नेताहरू एक ठाउँमा उभिएपछि अप्ठेरोमा पुगेका ओलीले पुन नेताहरूलाई धम्कीपूर्ण शैलीमा ‘हेग पुर्‍याउने’ भाषा सहितको प्रस्ताव सचिवालयमा ल्याउन लागेका हुन्।

हेगको हौवा धेरै आएपछि जानकारीको लागिः 

१. रोम महासन्धि र अन्तर्राष्ट्रिय अदालत नरसंहार, युद्ध अपराध र मानवताविरोधी घटनामा सामेल भएका राज्यपक्ष र विद्रोहीपक्ष जोसुकै भएपनि अन्तर्राष्ट्रिय अदालतमा ल्याएर कारवाही हुनसक्छ। त्यसको निम्ति संयुक्त राष्ट्रसंघका सदस्यको सहभागितामा इटालीको रोममा सन् १९९८मा यौटा अभिसन्धि तयार गरिएको थियो। जसलाई रोम महासन्धि भनिन्छ।

अमेरिका, चीन, भारत, इराक, लिविया, यमन, कतार र इजरायलसहित नेपालले त्यस अभिसन्धिमा हस्ताक्षर गरेका छैनन् । अभिसन्धि अनुमोदन नगरेको राष्ट्रको कुनै व्यक्तिलाई हेगमा कानूनसम्मत तरीकाले उभ्याउन सकिन्न।

२. अभिसन्धी हस्ताक्षर गरेकै कारण छिमेकी सियरा लिओनमा हजारौँ मानिसको नरसंहार गरेका लाइबेरियाका राष्ट्रपति चाल्र्स टेलर अहिले हेगमा ५० वर्षको जेल सजाय काटिरहेका छन्।

३. अभिसन्धि अनुमोदन नगरेपनि राष्ट्रसंघको सदस्य रहेको राष्ट्रको राज्य प्रमुख या विद्रोही कसैले चरम नरसंहार मच्चाएको वा मानवता विरोधी जघन्य अपराध गरेको खण्डमा राष्ट्रसंघबाट अनुमोदन भएमा या सम्बन्धित राष्ट्रले संयुक्त राष्ट्रसंघलाई गुहारेको खण्डमा पनि हेग पुर्याएर कारवाहीको दायरामा ल्याउन सकिन्छ।

रोम विधान लागू भएको दिन १ जुलाई २००२ मा अन्तर्राष्ट्रिय अदालतले काम सुरु गरेको थियो। मानवताविरुद्ध अपराध गर्नेहरूलाई सम्बन्धित देशमा कारबाही नहुने परिस्थिति अन्त्य गर्न संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय अदालत गठनका लागि तयार पारेको विधान १७ जुलाई १९९८ मा इटलीको रोममा पारित भएको थियो। त्यसैलाई रोम विधान भनेर चिन्ने गरिन्छ। युरोपका अधिकांश मुलुकसहित विश्वका १ सय २२ देश रोम विधानको पक्षमा छन्। सार्क राष्ट्रहरूमध्येका बंगलादेश, अफगानिस्तान र मालदिभ्सले यसको अनुमोदन गरेका छन्।

बहराइन, इजराइल, कुवेत, रसिया, सुडान, थाइल्यान्ड, युक्रेन, अमेरिका र यमनले रोम विधानमा हस्ताक्षर गरे पनि अनुमोदन गरेका छैनन्। चीन, भारत, इन्डोनेसिया, इराक, लेबनान, मलेसिया, नेपाल, पाकिस्तान, दक्षिणी सुडान, टर्कीलगायत ४२ देशले भने हस्ताक्षरै गरेका छैनन्। राज्यको कानुन प्रणालीले न्याय दिन नसके, राज्यले नै अन्तर्राष्ट्रिय अदालतलाई गुहारे वा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले कुनै देशको मामिलालाई हेर्न सिफारिस गरे युद्ध अपराधीलाई हेगमा उभ्याइन्छ।

धारा ८ (२) मा क्रूर अपराधका ७ सूची समावेश छन्। जसमा हतियारसहित आक्रमण गर्नु, सेना प्रयोग गरी सीमा मिच्नु, कसैको भूभागलाई आफ्नोमा गाभ्नु, कसैको भूभागमा बम प्रहार गर्नु, अरूको देशविरुद्ध हतियार प्रयोग गर्नु, नाकाबन्दी गर्नु, स्थल, जल वा हवाई आक्रमण गर्नु, अर्काको भूगाग हो भनी तय भएको इलाकामा हतियारपूर्ण शक्ति प्रयोग गर्नु, कुनै राज्यविरुद्धको सशस्त्र गतिविधिमा आफ्नो भूमि प्रयोग गर्न दिनु र सशस्त्र कारबाहीका लागि हतियारधारी समूह र सेना पठाउनु पर्छन्। क्रूर अपराधको सूचीमा भएका घटना नेपालमा खासै भएको देखिँदैन।