प्रचण्डकाे नयाँ राजनीतिक विश्लेषण पुस्तक बजारमा

prachanda pic
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वि.सं.२०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताहरुको सङ्ग्रह “नयाँ राजनीतिक विश्लेषण” पुस्तक सार्वजनिक भएको छ।

सञ्चार माध्यममा प्रकाशित अन्तर्वार्ताहरुको संगालो प्रस्तुत पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्नेछ। महान जनयुद्धका सर्वोच्च कमान्डर, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आर्किटेक्चर हुनुको नाताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको नजर अध्यक्ष कमरेड प्रचण्डमा पर्नु स्वाभाविक हो। आफूलाई लागेका कुरा खुलस्त ढङ्गले राख्ने राजनीतिज्ञका रूपमा पनि अध्यक्ष कमरेड प्रचण्ड परिचित छन्। मिडियाकर्मीको रचनात्मक आलोचनाको सदैव प्रशंसा र सम्मान गर्छन्।

पुस्तकमा विस्तृत शान्ति सम्झौताको जगमा अन्तरिम संविधानदेखि संविधान सभासम्म, राजतन्त्रको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्म, हतियार व्यवस्थापनदेखि सेना समायोजनसम्म, संविधान सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पात्र हुनुको नाताले अध्यक्ष  प्रचण्डका अन्तर्वार्ताहरुको सँगालो राजनीति शास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र नेपाली राजनीतिका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।

प्रस्तुत पुस्तक प्रकाशनका निम्ति अहोरात्र खट्ने पार्टीका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यहरुमा अध्यक्ष प्रचण्डले धन्यवाद दिएका छन्। त्यसैगरी उनले विभिन्न समयमा तात्कालिक विषयहरुमा पार्टीका धारणा र वर्तमान राजनैतिक परिस्थितिका बारेमा अन्तर्वार्ता लिएर नयाँ राजनीतिक विश्लेषण र विचार निर्माणमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण सञ्चारकर्मी पत्रकार मित्रहरुमा आभार प्रकट गरेका छन्।

साथै, पुस्तक प्रकाशनका निम्ति घच्घचाउने वुद्धिजीवि, समाजसेवी र शुभेच्छुकहरुमा कृतज्ञता पनि व्यक्त गरेका छन्। प्रस्तुत पुस्तकमा ४०८ पृष्ठ रहेका छन् भने यसको मूल्य रु. ५५० रहेको छ। पुस्तक राजधानी काठमाडौं लगायत देशका विभिन्न सहरहरुका पुस्तक पसलहरुमा उपलब्ध हुनेछ।

Press_note _ naya rajnitik bislesan-CMPrachanda book_077-08-12