प्रचण्ड–नेपाल समूहमा दुईतिहाइ, झनझन् एक्लिँदै ओली

CPN Leaders
लोकपाटी न्यूज

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादमा केपी शर्मा ओली विरुद्धको मोर्चाबन्दी झनै कसिलो बनेको छ। यसअघि पार्टीमा विवाद हुँदा पूर्वमाओवादी समूहका केही नेताले ओलीलाई साथ दिएपछि उनी बलिया र पुष्पकमल दाहाल प्रचण्ड कमजोर बनेका थिए। यसपटक भने उनीहरुले प्रचण्डलाई नै साथ दिएका छन्।

यसअघि पार्टीमा विवाद हुँदा ओलीले पूर्वमाओवादी समूहका नेताहरुलाई विभिन्न पदीय आश्वासन दिने गरेका थिए। जसले गर्दा पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल लगायत नेता ओलीको पक्षमा देखिएका थिए। उनीहरुले ओलीको पक्षमा पार्टीभित्र दबाब बढाएका थिए। माओवादी नेतासँगै उपाध्यक्ष वामदेव गौतम पनि अन्तिममा ओलीकै पक्षमा उभिने गरेका कारण प्रचण्ड(नेपाल पक्ष कमजोर बनेको थियो।

तर यसपटक ओली विरुद्ध प्रचण्ड र नेपाल पक्षका नेताहरु एक ढिक्का भएका छन्। विगतमा आफूलाई साथ दिएका प्रचण्ड पक्षका नेताहरु र गौतमलाई पनि आफ्नो पक्षमा ल्याउने ओलीको प्रयास असफल भएको छ। जसले गर्दा उनी अप्ठ्यारो परेका छन्। गौतमको हकमा भने प्रचण्ड–नेपाल र ओली दुवै पक्षले भर गरेका छैनन्। यद्यपि, गौतमले ओलीलाई साथ दिन नसकिने संकेत गरिसकेका छन्।

रायमाझी र गजुरेलले गत आइतबार प्रचण्डलाई खुमलटारमै गई भेटेर साथ दिने विश्वास दिलाएका छन्। यस्तै सचिवालय सदस्य बादलले आफू सरकारमा भएकाले खुलेर प्रचण्डले बोलाएको भेलामा सहभागी हुन नसकेको खुमलटारलाई बताएका छन्। उनले प्रचण्डलाई साथ दिने आश्वासन दिए पनि अन्तिममा निर्णय गर्ने भएकाले यसै भन्न नसकिने एक नेताले बताए।

स्थायी कमिटी सदस्य मणि थापाले ओलीले ल्याउने सचिवालय बैठकको प्रतिवेदनले कित्ता स्पष्ट पार्ने बताए। ‘केपीले प्रतिवेदन कस्तो ल्याउनुहुन्छ। पार्टी विभाजन हुनेगरी ल्याउनुहुन्छ कि एकता ? पार्टी बनाउने गरी ल्याउनुहुन्छ कि भत्काउने गरी?’, उनले भने, ‘त्यही प्रतिवेदनबाट कित्ताकाट सुरु हुन्छ। नभए, कुनै पक्षमा नलागेर पार्टी एकताकै पक्षमा उभिने हुन्छ।’

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै जसो नेताहरु एक ढिक्का भएकाले खासै समस्या नभएको नेताहरुको भनाइ छ। सरकारमा सहभागी स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराई र घनश्याम भुसालले खुलेर नेपाल पक्षमा नदेखिए पनि समस्या नभएको बताएको छ। तर सरकारमा गएपछि भट्टराईले ओलीतिर निकटता बढाएको भन्दै नेपाल पक्षले शंकाको दृष्टिकोणले हेर्न थालेको छ। यदि कित्ताकाट गर्नुपर्ने अवस्था आए भट्टराई आफ्नो पक्षमा उभिने नेपाल पक्षको विश्वास छ।

‘यसअघिको पार्टी विवादमा ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट हटाइहाल्ने थियो। त्यही किसिमले तयारी पनि थियो’, नेपाल निकट एक नेताले भने, ‘पूर्वमाओवादी समूहका केही नेता र वामदेवले साथ नदिँदा ओलीलाई एक पदबाट पनि हटाउन सकेनौं। अब ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट हटाएरै छाड्छौं।’’

केपी ओलीले पार्टी निर्णय मान्नैपर्ने परी बहुमत समूहले आफ्नो तयारी थालेको छ। शनिबार बस्ने सचिवालयको बैठकमा ओलीले फरक प्रस्ताव ल्याएपछि त्यसमाथिको बहस स्थायी समिति हुँदै केन्द्रीय समितिसम्म पुग्नेछ। केन्द्रीय समितिले बहुमतका आधारमा सबै कुराको छिनोफानो गर्ने नेताहरुले बताउँदै आएका छन्।