ओलीकाे प्रस्ताव तयार, कस्ताे छ प्रतिवेदनकाे अन्तर्वस्तु ?

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावको जवाफसहित पार्टीको आगामी रणनीतिसमेत समेटेर प्रारम्भिक प्रस्ताव तयार पारेका छन्।

ओलीका तर्फबाट प्रारम्भिक प्रस्ताव तयार भएको ओली निकट उपप्रधानमन्त्री तथा केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले जानकारी दिए।

ओलीसँग असन्तुष्टि चुलिएपछि प्रचण्डले गत कार्तिक २८ गते ओलीविरुद्ध १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव, १० पृष्ठ लामो जवाफी पत्र पेश गरेका थिए। उक्त राजनीतिक प्रस्तावको अपनत्व तत्कालै प्रचण्ड समूहका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिएका थिए।

मंसिर ३ को केन्द्रीय सचिवालय बैठकमा ओलीले प्रचण्डको राजनीतिक प्रस्तावमा लगाइएको आरोपले आफ्नो राजनीतिक जीवनमै धक्का लागेको र त्यसको जवाफ दिन मंसिर १३ गतेसम्म समय लिने प्रस्ताव राखेका थिए। प्रचण्ड पक्षले त्यसलाई सकरात्मक प्रस्ताव भन्दै १३ गते सचिवालय बैठक राख्न सहमति जनाएको थियो।

उक्त बैठकमा नेता पोखरेलले प्रचण्डको आरोपको बुँदागत रुपमा जवाफ दिने बताएका थिए। ओलीले नेता पोखरेलसँगै आफू निकट प्रभावशाली नेताहरुलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएका थिए।

यो बीचमा पार्टी एकता रक्षाका लागि ओली पक्षले प्रचण्डलाई आफ्नो राजनीतिक प्रस्ताव फिर्ताका लागि दबाब दिएपनि प्रचण्डले त्यो फिर्ता नगर्ने अडान लिइरहे। र, त्यसलाई ‘बुकलेट’का रुपका प्रकाशित गरी राष्ट्रव्यापीरुपमा वितरणको अभियानको थालनी गरिकसकेका छन्। यो प्रस्ताव फिर्ता गरेमा आफू ओलीसँग झुकेको ठहरिने प्रचण्डको बुझाइ छ।

पार्टी एकतालाई केन्द्रमा राखेर मेलमिलापका लागि दौढधुप गरिरहेका प्रचण्डसँग टाढिएका भनिएका पूर्वमाओवादी पृष्ठभूमिका प्रभावशाली नेताहरुले यसपटक प्रधानमन्त्री ओलीबाट गल्ती भएकाले त्यसअनुसार पार्टी कमिटी बैठकमा छलफल र निष्कर्ष निस्कनुपर्ने र त्यसलाई दुबै पक्षले आत्मसाथ गर्नुपर्नेमा जोड दिइरहेका छन्। नेकपाको प्रस्तावित केन्द्रीय सचिवालय बैठक आउन तीन दिन बाँकी छ।