कसैले चाहँदैमा नेकपा कमजोर हुँदैनः नेपाल

Madhav Kumar Nepal
लोकपाटी न्यूज

पर्सा। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन्।

नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसकिने बताए।

पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीको सरुवाबढुवामा देखिएका अनियमिता समाप्त पार्न गुणदोषका आधारमा मूल्यांकन गर्ने पद्धतिको विकास आवश्यक रहेको धारणा व्यक्त गरे। नेता नेपालले कोरोना संक्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतता अपनाउन सबैलाई आग्रह गरे।

नेपाल कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई पूर्वप्रधानमन्त्री नेपालले सम्मान गरेका थिए।