सत्ता साझेदारीबारे महरले भनेः ‘खुमलटारलाई तर्साउन बालुवाटारले फैलाएको हल्ला हो’

Nain_Singh_Mahar
लोकपाटी न्यूज

दाङ। नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले संसद्को यो कार्यकालभरि काँग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। दाङमा सञ्‍चारकर्मीसँग नेता महरले नेपाली काँग्रेस जनताले दिएको म्याण्डेडभन्दा बाहिर नजाने जिकिर गरे।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको विषयमा राखिएको जिज्ञासाको जवाफमा उनले भने, ‘खुमलटारका मान्छेलाई तर्साउन बालुवाटारबाट गरिएको हल्लाका पछाडि नलागौं, काँग्रेसले जनादेशको अपमान गर्न सक्दैन।’

नेता महरले प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीचको भेटलाई सत्ता साझेदारीसँग नजोड्न पनि उनले आग्रह गरे। नेकपाको आन्तरिक विवाद उत्कर्षमा रहेको बेला प्रधानमन्त्री ओली र सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको चर्चा भइरहेको छ। सोही सन्दर्भमा नेता महरले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताले प्रधानमन्त्रीलाई भेटेर मुलुकका विद्यमान समस्या बारे सचेत गराउनुलाई नेकपाको अन्तर राजनीतिसँग जोड्नु उचित होइन।’

यद्यपि नेता महरले नेकपाका लज्जास्पद राजनीतिक गतिविधिले नागरिकमा व्यवस्थाप्रति नै वितृष्णा फैलिरहेको बताए। महरले भने, ‘जनताले दुई तिहाई मत दिएर सरकारमा पठाए तर सरकारले के गर्‍यो नेकपाकै अध्यक्ष प्रचण्डले सचिवालयमा ल्याएको प्रतिवेदन पढे हुन्छ।’

नेकपाको अन्तरकलहले मुलुकलाई बर्वादीको बाटोमा लगेको उनको आरोप लगाए। कोरोना महामारीले मुलुक सामु गम्भीर आर्थिक चुनौती आएका बेला प्रभाव न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउनुपर्नेमा नेकपा लेनदेनको राजनीतिमा अल्झिएको नेता महरले बताए। उनले संकटमा नागरिकले सरकार भएको अनुभूति गर्न नपाएको समेत जिकिर गरे।

‘नागरिकका समस्या र मुलुकको आवश्यकता एकातिर छन्, सरकार अर्कैतिर,’ नेता महरले भने, ‘झुटो नाराले भ्रम त छर्न सकिन्छ तर मुलुक चलाउन सकिँदैन भन्ने पुष्टि भएको छ।’ सरकारको कार्यशैलीका सन्दर्भमा बोल्दै नेता महरले थपे, ‘नागरिक सिटामोल पाइरहेका छैनन्, प्रधानमन्त्री मुलुकमा आमूल प्रगतिको भ्रम छर्छन्।