काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवाद समधानका लागि तयार पारेको प्रस्ताव सचिवालय बैठकमा प्रस्तुत गरेका छन्। प्रचण्डले प्रस्तावमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक त्यागसहित समुचित योगदान गर्नुपर्नेमा जोड दिएका छन्।
सचिवालय बैठकमा प्रस्तुत गरिएको प्रस्तावमा भनिएको छ, ‘म आशा गर्दछु कि कमरेड के. पी. ओलीले प्रमुख रुपमा गम्भीर आत्मसमिक्षा र आत्माआलोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्याग सहित पहल लिई समुचित योगदान गर्नुहुनेछ।’
ओलीले राजकीय हैसियतको दुरुपयोग गरेको पनि आरोप छ। ‘राजकीय हैसियतको दुरुपयोग गर्दै आफुप्रति असहत हुनेहरुलाई प्रतिशोधपूर्ण किसिमले किनारा लगाउने र प्रहार गर्ने काम गर्नुभयो। पार्टीमा गुटबन्दी गर्दै पार्टी सदस्य नभएका र भर्खरै पार्टीमा आएका बुर्जुवाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर पार्टीमा लामो समय काम गरेकाहरुलाई किनारा लगाउने काम गर्नुभयो।’ प्रस्तावमा उल्लेख छ।
प्रचण्डले पार्टीभित्रको विवाद वैधानिक तरिकाले हल गर्नुभन्दा ओलीले फाउण्डेसनको नाममा राज्यशक्तिको दुरुपायोग गर्दै देशव्यापी गुट सञ्चालन गरेको आरोप लगाएका छन्, ‘क. के.पी. शर्मा ओलीले फाउण्डेशनको नाममा राज्यशक्तिको दुरुपयोग गर्दै देशव्यापी रुपमा गुट संयन्त्र निर्माण गर्न प्रोत्साहन दिनुभयो। पार्टीमा ध्रुवीकरण गर्दै उहाँ सत्ताको खेलमा तल्लीन रहनुभएको देखियो।’
प्रस्तावमा ओलीको चरित्रको पनि वर्णन गरिएको छ। ‘आफु अप्ठ्यारोमा पर्दा आफ्ना समकक्षी नेताहरुलाई विभिन्न लोभ, प्रलोभन देखाउने र सहमत नभएमा डर, धाक, धम्कि र चरित्र हत्या जस्ता घृणीत हतियार प्रयोग गर्न उहाँ हिच्किचाउनु भएन।’ प्रस्तावमा उल्लेख गरिएको छ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2020/11/Chairman-Prachanda-Political-Document.pdf”]



लोकपाटी न्यूज

