मोरङ सुन्दरहरैंचा १० का रवीन विष्ट छोटो र मध्यम दुरीको यात्रा गर्नुपरे साइकलको प्रयोग गर्छन् । हरेक दिन न्यूनतम ३० किलोमिटर साइकल चलाउँदै आएको बताउने विष्ट भन्छन्, ‘साइकलसँगै लभ पर्यो । छोटो र मध्यम दुरीको यात्रामा साइकल नै सहज लाग्छ ।’

त्यसो त, स्वास्थ्यको दृष्टिकोणले साइकल निकै उपयोगी साधन मानिन्छ । कोरोना संक्रमण समाजमा फैलिरहेको समयमा व्यक्ति व्यक्तिबीच दूरी कायम गर्न पनि साइकलले निकै मद्धत गर्छ ।

सुन्दरहरैंचा साइकल राइडर्स क्लब नामाकरण गरेर सुरुवात गरिएको उक्त यात्राले स्थानीय र ग्रामिण पर्यटन प्रवद्र्धन गर्नुका साथै सामुदायिक विद्यालय सुधारको एजेण्डालाई उठाइएको छ । विष्टको नेतृत्वमा सुन्दरहरैंचामा मात्र ७० बढीको साइकल यात्री समुह बनेको छ । सबैको आ–आफ्नै साइकल छ । ‘सामाजिक दूरी कायम गर्दै समाजलाई चेतना फैलाउन हामी निरन्तर सकृय छौं ।’ विष्ट भन्छन्, ‘साइकलसँगको यात्रामा शारीरिक स्फूर्ति मात्र नभएर सामाजिक, सांस्कृतिक, धार्मिक अनि बौद्धिक विकास हुन्छ ।’


पेशाले मन्टेश्वरी विद्यालय सञ्चालक रहेका विष्ट आफ्नो साइकल क्रेजले समाजसँग जोडिन र प्रकृतिका बिभिन्न ठाउँ घुम्न अवसर पाएको बताउँछन् । शान्ति, समृद्धि र शैक्षिक गुणस्त विकासको परिकल्पनासहित प्रदेश १ को राजधानी विराटनगरबाट जनकपुरसम्म एकल साइकल यात्रा गरेका विष्टले साइकलबाट दर्जनौं ठाउँहरु घुमेको बताउँछन् । ‘दुई वर्षको अन्तरालमा सयबढी नयाँ ठाउँ घुम्ने अवसर साइकलले दिलाएको छ ।’ उनी भन्छन्, ‘हजारौं साथीहरुसँग नियमित जोडिने र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने सवालमा हामी आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागिरहेका छौं ।’

‘साइकल चलाउने व्यक्तिलाई अहिले पनि हेयको दृष्टिले हेर्ने चलन छ । यहाँका अधिकांश सहरहरुमा छुट्ट साइकल लेन पनि छैन ।’ नेपालमा विपन्न नागरिकले मात्र साइकललाई साधनको रुपमा प्रयोग गर्ने चलनको विरोध गर्दै विष्ट भन्छन्, ‘छोटो र मध्यम दूरीको यात्राका लागि अत्यन्तै उपयोगी मानिने साइकलको प्रयोग बढाउन सके शारीरिक स्वस्थ्यता मात्र नभएर आर्थिक बचत पनि हुन्छ ।’ देशका मुख्य सहरहरुमा छुट्टै साइकल लेनको निर्माण गरेर साइकल प्रयोगकर्तालाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् ।








लोकपाटी न्यूज
