कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, को–को हुँदैछन् नयाँ मन्त्री ?

karnali_pradesh
लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग सहमति भएसँगै माधवकुमार नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतक पदका लागि सांसदको नाम बुझाएको छ।

शाहीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेताबाट हटाउन यमलाल कँडेलसहितका १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूह त्यसलाई रोक्न सहमत भए।

सोहीअनुसार सुर्खेतमा मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही नेपाल समूहलाई तीन मन्त्री र संसदीय दलको सचेतक पद दिन तयार भएका छन्।

दुई पक्षबीच सहमति जुटेपछि अविश्वासको प्रस्तावमाथि मंगलबार राखिएको छलफलमा नेता नेपाल समूहका सांसदहरु अनुपस्थित रहे। एक नेताका अनुसार नेपाल समूहका नेता समावेश गरी मन्त्रिपरिषद् पनि मंगलबार नै पुनर्गठन गर्ने सहमति भएको छ।

स्रोतका अनुसार नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ। संसदीय दलको सचेतकमा कर्मराज शाहीको नाम पठाइएको स्रोतले जनाएको छ।

चन्द्र शाहीलाई मन्त्री बनाउन माधव नेपाल समूहले एक वर्ष अगाडि नै नाम बुझाएको थियो। तर, मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिएनन्। अब मन्त्रिपरिषदमा नेता नेपाल पक्षका चार मन्त्री हुनेछन् भने पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई मन्त्री हुनेछन्।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा मुख्यमन्त्री शाहीले पूर्वमाओवादी समूहबाट समेत मन्त्री थप्ने तयारी गरेका छन्। मन्त्रिपरिषद बिस्तारसँगै कर्णाली प्रदेशमा ओली समूह संकटमा परेको छ।

ओली समूहका केन्द्रीय नेताहरुको निर्देशनमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्र नयाँ तरंग आएको छ। कर्णालीमा देखिएको विवाद अब अरु प्रदेशमा समेत देखिने नेताहरुले आंकलन गरेका छन्।

हाल प्रदेश–१, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा ओली समूहका मुख्यमन्त्रीहरु छन्। प्रदेश–१ र बाग्मती प्रदेशका मुख्यमन्त्री यसअघि नै बारम्बार विवादमा आएका छन्, त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरुले पार्टी र सरकारमा दोहोरो जिम्मेवारी पाएको भन्दै आलोचना हुँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्