काठमाडौं। गैरआवासीय नेपाली संघले आयोजना गर्न लागेको विश्व ज्ञान सम्मेलन असोज २३ गतेबाट सुरु हुँदै छ। सम्मेलनको लागि तयारी अन्तिम चरणमा पुगेको गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए। सम्मेलन असोज २५ गतेसम्म सञ्चालन हुने छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको क्षेत्रीले जानकारी दिए।
विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहने यस सम्मेलनमा २ सय वटा कार्यपत्र प्रस्तुत गरिने उनले बताए। विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुने क्षेत्रीले बताए। सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरू प्रस्तुत हुने छन्।
यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्रहरू माथि घनिभूत छलफल गर्ने कार्यक्रम तय भएको छ। सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरू समावेश गरिएका छन्।
यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, ऊर्जा, आर्थिक रूपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञान लगायतका समानान्तर सत्रहरूमा विभिन्न विज्ञहरूले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रवक्ता क्षेत्रीले बताए। सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुने तय भएको उनले बताए। सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकार समक्ष सुझावको रूपमा प्रस्तुत गरिने उनको भनाई छ।
नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघले दुई वर्षअघि विश्व ज्ञान सम्मेलनको आयोजना गरेको थियो। यस पटकको सम्मेलन त्यसको निरन्तरता भएको प्रवक्ता क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


लोकपाटी न्यूज

