सामाजिक, सांस्कृतिक तथा राजनीतिक कारणले पलपलमा महिलाहरु प्रताडित छन्

लोकपाटी न्यूज

व्यक्तिगत स्वार्थलाई टाढा राख्दै समाजसेवामा कन्द्रित हुने ज्ञानधरा पन्थ बिभिन्न सामाजिक संघसंस्थामा अवद्ध हुँदै रोटरी क्लब अफ तिनाउको अध्यक्षको नेतृत्वमा हुनुहुन्छ। पेशाले एभरेष्ट माध्यमिक विद्यालय बुटवलमा लेखा अधिकृतको रुपमा कार्यरत पन्थ महिला, बालबालिकाका मुद्वाहरुमा विशेष चासो दिनुहुन्छ।

स्थानीय रेडियोको संस्थापक साथै टेलिभिजनमा जीवन र जगतसँग जोडिएका कार्यक्रमहरुसमेत सञ्चालन गर्ने उहाँ राजनीति र समाजसेवामा पनि उत्तिकै सकृय हुनुहुन्छ। पन्थसँग सामाजिक जीवन, पारिवारिक संघर्ष र जागीरे जीवनका सवालमा लोकपाटी संम्वाददाता अस्मिना पाण्डेले गर्नुभएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत गरिएको छ।

१. सामाजिक क्षेत्रमा आउने प्रेरणा कसरी मिल्यो ?

युवा अवस्थामा बिद्यार्थी राजनीतिमा सक्रिय हुने अवसर मिल्यो। समाजका विकृति र विसंगतीलाई हटाउने क्रममा एक्लै भन्दा समूहको माध्यमबाट आवाजहरू बुलन्द गर्दा त्यसबाट पर्ने प्रभाव निकै सकारात्मक हुन्थ्यो। समूहगत कदमले पीडित वर्गको अनुहारमा आउने खुशीले आफूमा शान्तिको अनुभूति हुन्थ्यो। म शान्तिको प्यासी। आफ्नो सानो भुमिकाबाट आम मानिसले पाउने सुविधा र सहयोगले ज्यादै आत्मसन्तुष्टि हुन्थ्यो। बिहे भएर गएको घर पनि सामाजिक सेवामा समर्पित परिवार पर्यो। मेरो व्यक्तिगत चाहना र परिवारको साथले होला थोरै भएपनि सामाजिक सेवामा लाग्ने प्रेरणा प्राप्त भएको छ।

तपाई आवद्ध सामाजिक संस्थाले समाजमा कस्तो रुपान्तरण ल्याइरहेको छ ?

म रोटरीमा आवद्ध छु। सेवाको भावलाई विस्तार गर्न, व्यवसायलाई मर्यादित बनाउन, विश्वमित्रता भावनाको कदर गर्दै आफ्ना सामाजिक गतिविधिलाई विश्वसामु पुर्याउन सामाजिक संस्थाहरुले सहयोग गर्छन्। आपसी सदभाव र मेलमिलापको अभिवृद्धिमा सहयोग पुर्याउन साथै हरेक व्यक्तिको नेतृत्व, व्यक्तित्व र बोल्ने क्षमताको विकास गर्न रोटरीले सहयोग गर्छ । आदर्श समाजको स्थापना गर्न, नैतिक सुधार र सामाजिक सुधारको पक्षमा रही शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, सुरक्षित मातृत्व र बालबालिकाको संरक्षण एवं वातावरणको क्षेत्रमा हामी सामाजिक संघसंस्थामार्फत काम गर्छौं ।

आगामी योजनाहरु के छन् ?

अहिले म रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व गर्दैछु। रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को इतिहासमा शतप्रतिशत महिला मात्र भएको एकमात्र गौरवशाली क्लब हो । यो क्लबमा महिलाहरुको लागि प्रसस्तै अवसर एवं चुनौती पनि छन्। समाजको बिभिन्न क्षेत्रमा छरिएर आ–आफ्नो पेशा व्यवसायसँग आबद्ध महिलाहरुलाई समेट्दै परिवार र कार्यक्षेत्रलाई व्यवस्थित गर्दै समाजसेवामा लागेका छौं। क्लबको बार्षिक कार्ययोजना र रोटरी अन्तर्राष्ट्रियको लक्ष्यलाई पूरा गर्ने गरी अगाडि बढिरहेका छौं। साथै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले ल्याएका सकारात्मक कदमहरूलाई साथ दिनु सामाजिक संस्थाको मूल मर्म र धर्म हो। सोही अनुरुप हामी र हाम्रो क्लब अघि बढिरहेको छ। हरेक तहसँग समन्वय र सहकार्य गर्दै महिलाको व्यक्तित्व र नेतृत्व विकासका लागि महिला स्वास्थ्य, शशक्तिकरण र सक्षमता विकासका लागि बिभिन्न गतिविधिहरु सञ्चालन गर्ने योजना बनाएका छौं ।

घरायसी काम, जागीरे जीवन अनि सामाजिक जीवन । यी सबैमा समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

आफू तयारी अवस्थामा नरहँदा पनि साथीहरुले विश्वास गरेर दिएको जिम्मेवारी र उहाँहरुबाट प्राप्त हौसला, परिवारले दिएको साथ र पेशागत क्षेत्रबाट पाएको भरपूर सहयोगले यो सबै सम्भव भएको होला जस्तो लाग्छ। सबै पक्षको योजना र संघर्षलाई सहज अवतरण गराउँदै सामाजिक कामलाई पनि साथै लगेको छु। सोचेजस्तो सहज पनि छैन, असहज पनि छैन । समय व्यवस्थापनको सवालमा इच्छाशक्ति पनि मुख्य विषय हो। सबै क्षेत्रको आवद्धताले मलाई जहिल्यै उर्जा, हौषला र सघर्ष गर्ने हिम्मत बढाउँछ।

वर्तमान समाजमा महिलाको अवस्था कस्तो देख्नुहुन्छ ?

पीडादायी अवस्था छ। बिभिन्न दुःख कष्ट सहँदै, संघर्ष गर्दै जीवन गुजारा चलाउने महिलाहरुको संख्या अत्याधिक छ। पारिवारिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक कारणले पलपलमा महिलाहरुले पीडा भोग्नुपरेको छ। आज पनि समाजको कथित शिक्षित वर्गबाट महिलाहरु प्रताडीत छ। पीडित छ। शोषित छ। महिलाको आर्थिक, सामाजिक र राजनीतिक विकासको लागि अहिलेसम्म ल्याइएका योजना तथा कार्यक्रमहरु कर्मकाण्डीमात्र छन्। दुर्गम क्षेत्रमा रहेकी, अशिक्षित महिला मात्र होइन, सुगम क्षेत्रमा रहेर शिक्षित भनिएकी महिला पनि पीडामा छन्। अत्यन्तै जटील छ परिवर्तनको यात्रा । तर, हामी पछि हट्नु हुँदैन । सामाजिक संरचना, सामाजिक सोच र सामाजिक रुपान्तरणका लागि महिलाहरुले फरक शैलीको विद्रोह गर्नु अनिवार्य भएको छ।

महिलाहरुलाई नेतृत्वमा ल्याउन के गर्नुपर्छ ?

नेतृत्व आफैंमा चुनौतीपूर्ण विषय हो। त्यसमा पनि महिलाका लागि झनै चुनौती। किनभने, हाम्रा पारिवारिक उत्तरदायित्व, दोहोरो–तेहरो भूमिकामा छन्। शारीरिक तथा स्वास्थ्य संवेदनशीलता, सामाजिक दृष्टिकोण सबैसँग पौंठेजोरी खेल्न सहज छैन। सबैसँग तालमेल मिलाएर हिँड्न सजिलो पक्कै छैन । यसैका बाबजुत समयसँगै आउने बिभिन्न जिम्मेवारीलाई पूरा गराउँदै, आत्मनिर्भर बनाउँदै महिलाहरुलाई अघि बढाउन आवश्यक छ। सीपसँग महिलालाई जोड्नु अनिवार्य छ। आर्थिकरुपमा सक्षम बनाउन अनिवार्य छ । महिलाको शैक्षिक विकासमा राज्यले विशेष कार्यक्रम ल्याउन आवश्यक छ। आत्मबल विकास गराउने सवालमा सबैपक्ष लाग्नुपर्छ। त्यसले मात्र महिलाको विकास र उत्थानमा सहयोग पुर्याउँछ । त्यसपछि समाज पनि सभ्य बन्छ। शिक्षित बन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्