अस्मिना पाण्डे/ बुटवल, २९ साउन। समुदायस्तरमा कोरोना भाइरस संक्रमण देखिदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ। बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए।
पछिल्लो समय बजार खुल्ला भएसँगै मानिसहरूको भीडभाड र चहलपहल बढिरहेको छ। बजार खुल्ला हुँदा आममानिसले सामान्य सतर्कता पनि नअपनाएपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको प्रवक्ता रेग्मीले बताए।
बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि आज बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको उनले बताए।
लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै क्षेत्र ठप्प हुने बताइएको छ। अब झनै सचेत हुनुपर्ने अवस्था आएकाले लकडाउन गर्नु परेको उनले बताए। अघिल्लो साता हाट बजार लगायतका ठाउँमा बढी भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो। उपमहानगरपालिकामा १९ वडा रहेका छन्।



लोकपाटी न्यूज
