‘पार्टीलाई एकताबद्ध राखिन्छ, सबैले एकता जिन्दावादको नारा लगाऊँ ’

Prachanda Photo
लोकपाटी न्यूज

काठमाडौं, २८ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीभित्रै राष्ट्रघात र राष्ट्रवादको कित्ता छुट्ट्याइएकोभन्दै आपत्ति जनाएका छन्। आइतबार चितवन जिल्ला पार्टीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्रै राष्ट्रघात र राष्ट्रवादको कित्ता छुट्ट्याइएकोमा आपत्ति जनाएका हुन्।

प्रचण्डले नेपालको अद्यावधिक नक्सा प्रकाशन गर्न र संवैधानिक मान्यता दिलाउन आफू लागिपरेको सम्झदै के त्यो लम्पसारवाद थियो भनेर प्रश्न गरे। प्रचण्डले भने, ’हामी मिलेरै नाकाबन्दीको सामना गरेका हौँ, नक्सा प्रकाशित गरेका हौँ, स्थायी कमिटी बैठकमा सरकार र सरकारको नेतृत्वकर्ता केपी ओलीलाई सबैले धन्यवाद दिएकै हो। के अब मुर्दावाद र जिन्दावादको कुरा गर्न जरुरी छ ? सबैलाई विनम्रतापूर्वक आग्रह छ, पार्टीलाई एकताबद्ध राखिन्छ। सबैले एकता जिन्दावादको नारा लगाऊँ।’

उनले भने, ’एउटा गएर केपीलाई प्रचण्डलाई छोड्न हुन्न भन्ने र अर्कोले प्रचण्डलाई आएर केपीलाई छोड्न हुन्न भन्ने प्रवृत्तिका विरुद्धमा लड्नुपर्छ। यो पार्टीलाई एकतावद्ध राख्नु नै छ।’