तनहुँ, २५ असार। तनहुँमा विवाह मण्डपबाट बेहुलासहित पाँच जना पक्राउ परेका छन्। तनहुँको ब्यास ११ दमौलीमा बुधबार विवाह मण्डपबाट बेहुलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बाल विवाह गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। गोरखाको शहिद लखन थापा गाउँपालिका ११ का २३ वर्षीय सन्तोष अर्याल बेहुला बनेर १४ वर्षीया बेहुली लिन ब्यास आइपुगेका थिए।
तर, बालविवाह भइरहेको गोप्य सूचना जिल्ला प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले मण्डपबाटै बेहुलासहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुबा, बालिकाका बुबा–आमा र पुरोहित छन्।
प्रहरीकाअनुसार उनीहरुका सम्बन्धमा बिहीबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइएको छ। मुलुकी अपराध संहिताको दफा १७३ मा बालविवाह स्वतः रद्द हुने र यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख गरिएको छ।



लोकपाटी न्यूज
