काठमाडौं, २५ असार। बिहीबारदेखि चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने भन्दै मौसम पुर्वानूमान महाशाखाले जनाएको छ। भारी वर्षासँगै नदीमा बहाव बढ्नसक्ने र शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म पुग्नसक्ने पूर्वानूमान गरिएको छ।
यसैबीच, राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणले प्रेस नोट जारी गर्दै प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको छ।
उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ। प्राधिकरणले यी चार प्रदेश बाहेक प्रदेश नं ५ तथा कर्णाली, सुदुरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ।प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ। बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ।



लोकपाटी न्यूज
